२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday
आयात प्रक्रिया अस्वीकृत

भारतबाट भित्रिएको ३० टन भटमास नेपालगन्ज भन्सारबाटै फिर्ता

परीक्षणमा भटमास गेडामा क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा अत्यधिक पाइएकोले आयात गर्न नमिल्ने ठहर गरिएको हो ।

सरकारले आयात गर्न लागिएको ३० हजार २५५ केजी भटमास गेडा न्यून गुणस्तरको पाइएको भन्दै आयात प्रक्रिया अस्वीकृत गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले नेपालगन्ज भन्सार कार्यालयलाई सो भटमास फिर्ता गर्ने निर्णय गराएको हो ।

नेपालगन्ज भन्सार कार्यालयले परीक्षणको लागि नमूना पठाएपछि विभागले नेपाल सरकारले निर्धारण गरेको खाद्यान्न गुणस्तर मापदण्डको आधारमा परीक्षण गरेको थियो । परीक्षणमा भटमास गेडामा क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा अत्यधिक पाइएकोले आयात गर्न नमिल्ने ठहर गरिएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कुनै पनि खाद्य पदार्थ आयात गर्नुअघि विभागको स्वीकृति र प्रवेश अनुमति लिन अनिवार्य गरिएको छ । विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले व्यापारिक प्रयोजनका लागि आयात गर्न खोजिएका खाद्य पदार्थमा ऐनको दफा १३ अनुसार अनिवार्य प्रक्रिया पूरा नगरेको खण्डमा कानुनी कारबाही हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार