२०८३ जेठ १५ , शुक्रबार 29, May 2026, Friday

रासायनिक मलको चरम अभाव झेल्दै बाँकेका किसान

खेतीको समयमा बाँके जिल्लामा रासायनिक मलको चरम अभाव भएको छ । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । जिल्लामै मलको समस्या र अभाव चुलिएपछि बाँकेका किसान समस्यामा परेका छन् ।

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपर्ने देखिएको छ ।

मल नपाउँदा किसानलाई धान खेतीमा कठिनाइ परेको डुडुवा गाउँपालिकास्थित कम्दीका किसान सुरज मौर्यले जानकारी दिए । ‘नेपाली मल धेरै महँगो पर्ने भएकाले हामी किन्न सक्दैनौँ । जसरी हुन्छ गहुँ राम्रो होस् भनेर भारतका सीमावर्ती बजारबाट मल खरिद गरी ल्याउँदासमेत नेपाली प्रहरी र भारतीय एसएसबीले कडाइ गर्ने गरेको छन्,’ उनले भने ।

धान खेतीका लागि मल नपाएपछि किसान समस्यामा छन् । समय घर्किरहेकाले मलबिनै खेतमा धान रोप्न लागेको उनीहरूको भनाइ छ । धान रोप्ने बेला रासायनिक मलको चरम अभावले किसानको मन अमिलो भएको छ । नेपालबाट मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् ।

आफ्नो देशमा मल नपाएपछि लुकिछिपी भारतबाट ल्याउन बाध्य भएको उनीहरुको भनाइ छ । नेपाली किसान सीमावर्ती भारतीय बजार पुग्न थालेपछि त्यहाँ पनि डीएपीको मूल्य बढाइएको किसानले जनाएका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

नेपालगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले आर्थिक वर्ष २०८१–०८२ मा छ हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी, ३०० मेट्रिक टन पोटास गरी जम्मा आठ हजार ८०० मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए ।

जिल्लामा माग अनुसार युरिया र रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाइ छ । आर्थिक वर्ष २०८१–०८२ मा युरिया मल चार हजार ८४५ मेट्रिक टन र दुई हजार ९०८ टन डिपिए मल आएको थियो भने सोही अवधीमा २७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो । मल अभाव हुनुका प्रमुख कारण माग अनुसारको मल नपाउनुनै रहेको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

आवश्यकता अनुसारको वर्षा नभए पनि जिल्लामा हालसम्म ९०.९ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार सिँचाइ पुगेको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी ठाउँमा अन्य विधिबाट सिँचाइ गरी रोपाइँ गर्ने क्रम जारी छ । किसानहरुका अनुसार अहिले बाँकेमा धानखेतीको समय हो ।

त्यसका लागि प्रमुख रूपमा चाहिने रासायनिक मल युरिया हो । माग अनुसार अनुदानको रासायनिक मल प्राप्त नभएपछि सीमावर्ती क्षेत्रका किसानहरू भारतीय बजारबाट अवैध रूपमा रासायनिक मल ल्याउन बाध्य भएको डुडुवा कम्दीका किसान सुरज मौर्यले गुनासो गरे । उनले मलको चरम अभावका कारण मल लिन सीमापारि जानुपरेकाले भारतीय सुरक्षाकर्मी एसएसबीले फेला पर्दा नियन्त्रणमा लिने र अभद्र व्यवहार गर्ने गरेको बताए ।

भारत मल ल्याउँदा नेपाली सुरक्षाकर्मीले पनि दुःख दिने गरेको किसानहरूले बताएका छन् । ‘मलको अत्यधिक समस्या छ, मल पाइँदा पनि माग अनुसार पाउँदैनौं, मल अभावमा बढी मूल्य तिरेर समेत भारतबाट ल्याउँदा दुवै देशका सुरक्षाकर्मीबाट पीडित हुनुपरेको छ,’ नेपालगन्ज जयसपुरका किसान साबिर अलीले भने, ‘रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको छ ।’

यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ । खेतबारीमा पाङ्गरिक मलभन्दा पनि प्रायः सबैले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले माग समेत बढ्दै लिमिटेडले जनाएको छ । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडीसकेको र सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावमा उत्पादनमा असर पर्ने देखिएको शाखा प्रबन्धक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार