नेपाल वायुसेवा निगम (नेवानि) लाई २०१८ मा दुईवटा एयरबस ए३३०–२०० विमान आपूर्ति गरेको एएआर कर्पलाई अमेरिकी न्याय विभागले ५५ मिलियन डलर जरिबाना गरेको छ । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरूलाई घुस दिएको अभियोगमा एएआर कर्पलाई जरिबाना गरेको हो ।
‘इलिनोइसको वुड डेलमा मुख्यालय रहेको सार्वजनिक विमान सेवा कम्पनी एएआर कर्पले नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीहरूलाई घुस दिने भ्रष्ट योजनामा संलग्न भएको विदेशी भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) उल्लंघन गरेको सम्बन्धमा न्याय विभाग र सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) को अनुसन्धान गर्न ५५ मिलियन डलरभन्दा बढी तिर्नेछ,’ विभागले सोमबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेवानिले २०७३ चैत २५ (अप्रिल ७, २०१७) मा दुईवटा ए ३३०–२०० का लागि २०९.६ मिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो । यो नेपालको इतिहासमै सबैभन्दा ठूलो विमान खरिद सम्झौता थियो । नेवानिका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआर कर्पको आपूर्ति समूहका अध्यक्ष दीपक शर्माले सम्झौतामा हस्ताक्षर गरेका थिए । शर्माले विमान खरिद सम्झौतामा हस्ताक्षर गर्न नेपाली अधिकारीलाई घुस दिएको अमेरिकी न्याय विभागसमक्ष स्वीकार गरिसकेका छन् । विशेष अदालतले मंसिर १९ गते दुईवटा वाइडबडी जहाज खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा ११ जनालाई दोषी ठहर गरेको थियो ।
विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह र ऋतेन्द्र थापाको इजलासले विमान खरिद सम्झौताबाट सरकारलाई १ अर्ब ४७ करोड रुपैयाँको नोक्सानी भएको ठहर गरेको छ । अदालतले एएआर अधिकारी शर्मासहित हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेडका क्रिस्टियन न्युहलेन र जर्मन एभिएसन क्यापिटलका ओलेग क्यालिस्त्रुलाई १८ महिना कैद र प्रत्येकलाई १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिबाना सुनाएको छ । विमान खरिद सम्झौतामा हस्ताक्षर गरेपछि एएआर कर्पले विमान आपूर्तिका लागि हाई फ्लाई एक्स र जर्मन एभिएसन क्यापिटललाई साथमा लिएको थियो ।