२०८३ असोज २१ , बुधबार 7, October 2026, Wednesday

उद्योग विभागमा उपसचिवको रजगज

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक रुपमा गुणस्तरहीन उत्पादन बिक्री वितरणदेखि कालोबजारी गर्ने, तौलमा ठगी गर्नेहरुबिरुद्ध एकपछि अर्को कारबाहीलाई तीव्रता दिएको छ । त्यसैगरी, वाणिज्य विभागले करिब १०० को हाराहारीमा छालाम्बन्धी रोगको औषधि बिक्री केन्द्रमा अनुगमन गरी ब्यापक छानबिन गरिरहेको छ ।

छालारोग बिशेषज्ञ डा.अनिलकुमार झाको स्कीन अस्पतालमा रहेको फार्मेसीदेखि काठमाडौं उपत्यकाका छालासम्बन्धी औषधि बिक्री गर्ने पसलहरुको अनुगमन गरी कागाजत नियन्त्रणमा लिएको छ । बिगतमा खाद्यान्नको कारोबार गर्ने किराना पसलहरुमा सीमित रहँदै आएको वाणिज्य विभागले जनस्वास्थ्यसँग सम्बन्धित अरबौंको कारोबार गर्ने औषधिदेखि सूर्तीजन्य पदार्थको अनुगमन सुरु गरेको छ ।

श्रीराम टोबाको कम्पनीले कम तौलका गुट्खा बिक्री गरेको भेटिएपछि विभागले ललितपुरको सानोपामा रहेको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिमा छापा हानेको थियो । श्रीराम टोबाको कम्पनी बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलर पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको छ ।

पशुपतिनाथ इन्टरनेशनलमा छापा मारेपछि श्रीराम टोबाकोदेखि करेन्ट चाउचाउ उत्पादक यशोदा फ्ुड्स कम्पनीका संचालकसमेत रहेका कमलकिशोर मालपानी वाणिज्य विभागको कारबाही निस्तेज पार्न सक्रिय भएका छन् । वाणिज्य विभागले श्रीराम टोबाकोका संचालक मालपानीलाई बयानका लागि बोलाउँदा उनले मालपानीले वाणिज्य विभागका डिजीकै सरुवा गराइदिने भन्न थालेका छन् ।

यसैबीच, उद्योग विभागका महानिर्देशकमा राजेश्वर ज्ञवाली आएपछि विभागको सुधारका लागि अहोरात्र लागिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सुधारकै लागि घचघच्याइरहेका छन् । तर विभागका दुई निर्देशक सोम गौतम र शान्ता मरासिनी भने कमाउधन्दामा लिप्त हुँदा सुधारको गति अवरुद्ध छ । विभागको आकर्षक मानिने ट्रेडमार्क शाखाको क र ख का निर्देशकद्वय गौतम र मरासिनीले सेवाग्राहीसँग दररेट तोकेर नजराना माग्ने गरेका छन् ।

एक बर्षभन्दा लामो समयदेखि सोही शाखाको जिम्मेवारीमा रहेका मरासिनी र गौतमले ट्रेडमार्कको दर्ताको जानकारीपत्र दिंदा होस् वा प्रमाणपत्र दिंदा होस्, घुसविना नगरेको मौखिक उजुरी मन्त्री भण्डारीकोमा पुगेको छ । तर भण्डारीले उनीहरुको यस्तो हर्कतका बारेमा चासो राखे पनि स्वकीय सचिव आनन्द भट्टले संरक्षण गरेका छन् । भट्टकै कारण उनीहरु उक्त शाखामा टिकिरहन सफल छन् ।

भट्टले निर्देशकद्वयबाट मासिक रुपमा लाभ लिने गरेको आरोप छ । निर्देशकद्वय मातहतका कर्मचारीहरु प्रायः सबैको शाखा परिवर्तन भइसकेको छ । तर गौतम र मरासिनी भने एक बर्ष बितिसक्दा पनि त्यहीँ टिक्न सफल हुनुलाई आश्चर्यको रुपमा हेरिएको छ । मरासिनीलाई त केही महिनाअघि उद्योग मन्त्रालयले सरुवा गरे पनि उनले उद्योग सचिव कृष्णबहादुर राउतलाई हारगुहार गरी टिक्न सफल भएकी हुन् ।

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार