२०८३ असोज २१ , बुधबार 7, October 2026, Wednesday

मूढा बिर्साउने गरी तीन इन्सपेक्टरबीच कुटाकुट

कुनै बेला तालिममा रहेका प्रहरी निरीक्षकहरु दरबारमार्गस्थित एक डान्सबारमा पसेर मदिरा सेवन गरी ट्याक्सी चालकसँग विवाद गर्दा भोलीपल्ट मूढा बोकेर सजाय भोगेका थिए । यो घट्ना करिब दुुई दशकअघिको हो । त्यो बेला काठको मूढा बोकेर सजाय भोगका ती अधिकृतहरु अहिले विवादरहित अधिकृतका रुपमा गनिएका छन् । उनीहरुले नै अहिले आएर डिआइजीको दावी गरिरहेका छन् ।

उनीहरुको त्यो घट्ना सम्झाउने गरी मोरङको विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बीच कुटाकुट गर्दा कसैको नाकीडाँडी नै भाँचिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रंगेलीका सन्तोष खड्काबिच कुटाकुट भएको थियो ।

उनीहरु तीनैजना खानपानको लागि भनेर साँझपख एक होटलमा पुगेको बेला एकअर्काबीच भनाभन हुँदा हात हालहालको अवस्थामा पुुगेका थिए । खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन भएपछि हात हालाहालको स्थिति बनेपछि प्रहरीले नै बोलाएर रेस्क्यू गरिएको थियो । सुरुमा इन्स्पेक्टर लम्सालले खनाल र खड्कामाथि हातपात गरेका थिए । अवस्था बिग्रिएपछि इन्स्पेक्टर खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिटनै बोलाएका थिए ।

यूनिट आएपनि उनी आफै उक्सेर अरु दुुईमाथि आक्रमण गरेका थिए । लम्सालले पनि प्रहरी माथि आक्रमण गर्दा थप घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिँदै खनाल र खड्काले त्यहाँ आएका प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा लगेका थिए । लम्सालले कार्यालयमा रहेका सहायक हवल्दार सञ्जय भट्टराईमाथि पनि हातपात गरेका थिए । इन्स्पेक्टर लम्सालको कुटपिटबाट भट्टराईको नाक र मुख फुटेर रगत आएको थियो ।

यो विषयमा प्रहरी प्रधानकार्यालय उजुरी छानबिन शाखाले पनि छानबिन गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका एसएसपी रमेश थापा, कृष्ण कोइराला र एसपी कुमोध ढुंगलले घट्नाबारे जानकारी लिइसकेका छन् । उनीहरुले प्रहरी महानिरीक्षक दीपक थापालाई पनि रिपोटिङ गरिसकेका छन् । उनीहरुलाई के कारवाही गर्ने भन्ने बारेमा अहिले कुुनै पनि निर्णय भइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार