२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलब र ग्रेड समायोजन

लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तलबमान र ग्रेड समायोजन गर्ने निर्णय भएको हो ।

कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो । तर उनीहरुले खाइपाइ आएको तलबभन्दा पनि कम भएपछि असन्तुष्ट रहेका सइलाई सरकारले न्याय गरेको छ ।मन्त्रिपरिषदको यो निर्णयसँगै उनीहरूको तलब बढ्ने भएको छ ।

यसअघि उनीहरूले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए । ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने,’ मन्त्रपरिषदको निर्णयमा भनिएको छ । ग्रेड समायोजनका लागि गत १७ साउनमै सर्वाेच्च अदालतले परमादेश दिएको थियो । त्यसको करिब १० महिनापछि बल्ल कार्यान्वयन भएको छ ।

तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेको थियो । बढुवा हुँदा उनीहरूको तलब २६२ रुपैयाँ घटेको थियो । वरिष्ठ सइको एक हजार ४१८ जनाको दरबन्दी छ । बढुवा गरे पनि त्यसअनुसार तलबमान र ग्रेड समायोजनमा ढिलाइ भएको थियो । बढुवा भएको करिब तीन वर्षपछि यो समस्या समाधान भएको छ । मन्त्रिपरिषदको बैठकपछि उनीहरुले तीन वर्षकै तलब पाउने छन् ।

गत साउनमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले यससम्बन्धी परमादेश दिएको थियो । वरिष्ठ सइको आधारभूत तलब ४० हजार ९९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार ७३२ मात्र पाउने गरेका छन् । तर, सइको तलब भने ४३ हजार ९९४ रुपैयाँसम्म छ । वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको हो ।

प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार