बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयले माहुरीपालन समेत गर्दै राम्रो आम्दानी गर्दै आएको हो ।
जिल्लाको कोहलपुर नगरपालिका–१३ भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ बाट ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत विद्यालयले माहुरीपालन गर्दै आएको हो ।
विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ बाट माहुरीपालन गर्दै आएको बताए । ‘विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत माहुरीपालन गर्दै आएका छौँ, हाल ४७ घार मेलिफेरा जातको माहुरी छ, वार्षिक करिब पाँच क्विन्टल शुद्ध मह उत्पादन हुँदै आएको छ,’ प्रअ खत्रीले भने ।
उनका अनुसार मह बिक्रीबाट वार्षिक दुई लाख बढी रुपैयाँ आम्दानी हुँदै आएको छ । प्रअ खत्रीले भने, ‘उक्त रकमबाट गरिब तथा जेहेन्दार तथा आयश्रोत नभएका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री दिनुका साथै तीन जना निजी स्तरबाट कार्यरत शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक प्रदान गर्दै आएका छौँ ।’
उनले कक्षा ६ देखि १० सम्मका विद्यार्थीले स्कुल समयभन्दा बाहेकको समयमा च्याउखेती, फलफूल खेती, फाहोर सङ्कलन गरि कम्पोष्ट मल उत्पादन, बिरुवाहरूको नर्सरी (ब्याड) निर्माण, वृक्षरोपण लगायतका आयमूलक कार्यमा भाग लिने गरेको बताए । विद्यार्थीलाई कामको प्रकृति अनुसारको पारिश्रमिक प्रदान गरिँदै आएको उनले जानकारी दिए ।
‘सामूहिक रूपमा विद्यार्थीले उक्त काम गर्न रहर मान्छन्, खुसी हुन्छन्, पारिश्रमिक पाउँदा झनै खुसी भएर काम गर्छन् र पढाइमा पनि ध्यान दिन्छन्,’ उनले भने, ‘विषयगत रूपमा प्रयोगात्मक हुँदा सिक्ने मौका पनि राम्रो हुन्छ, प्रोजेक्ट वर्क (परियोजना कार्य) गर्न प्रोत्साहित हुन्छन्, घरमा काम नगर्ने विद्यार्थी पनि यहाँ काम गर्दा जाँगर लगाएर गर्छन् र घरमा पनि सहयोग गर्नुपर्छ, काम गर्नुपर्छ भन्ने सकारात्मक सोचको समेत विकास हुँदै आएको छ ।’
विद्यालयको नाममा करिब १८ बिघा जमिन भएपनि जम्मा दुई बिघा चार कट्ठा मात्र भोगचलन गर्दै आएको उनले जानकारी दिए । जसमध्ये केही वर्षअघि तत्कालीन स्थानीय सरकारले विद्यालयको १० बिघा जमिनमा वादी समुदायलाई घरवास बनाएर बस्ती बसालेको उनले बताए । त्यसैगरी तत्कालीन विद्यालयका विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व.कुमबहादुर खड्काले करिब चार बिघा जग्गा भाडामा लिएको जानकारी दिए ।
‘विद्यालयको नाममा करिब १८ बिघा जमिन छ, विद्यालयले हाल दुई बिघा चार कट्ठा मात्रै भोगचलन गर्दै आएको छ, १० विघामा तत्कालीन स्थानीय सरकारले वादी समुदायलाई घरवास बनाएर बस्ती बसालेको छ, करिब चार बिघा जमिन विद्यालय व्यवस्थापन समितिका तत्कालीन संस्थापक अध्यक्ष स्व.कुमबहादुर खड्काले २०५१ सालमा व्यक्तिगत प्रयोजनका लागि भाडामा लिनुभएको रहेछ,’ उनले भने ।
उनका अनुसार हाल खड्काको मृत्यु भइसकेको छ, २०६२ पछि उक्त जमिनको भाडा पनि स्कुललाई आएको छैन, स्व.कुमबहादुरका छोरा अहिले १३ नम्बर वडाका अध्यक्ष छन् । उनले भने, ‘अहिलेसम्म पनि उक्त जग्गा उहाँले नै भोगचलन गर्दै आउनुभएको छ ।’ विद्यालयले अब कागती खेती गर्नुका साथै माछापालनको समेत योजना बनाएको छ ।
विद्यालयमा हाल ४०० बढी विद्यार्थी अध्ययनरत छन् । खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ । विद्यार्थीले समूहअन्तर्गत गत वर्षदेखि त्रैमासिक रूपमा ‘बिहानी’ नाम भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन् । छात्रा क्रिकेटमा त विद्यालयले राम्रा खेलाडीसमेत उत्पादन गरिरहेको प्रअ खत्री बताउँछन् ।
‘हामीले पढाइका अलावा खेलकुद लगायतका अन्य अतिरिक्त क्रियाकलापहरू समेत गराउँदै आएका छौँ, समूह बनाएर विद्यार्थीले गत वर्षदेखि त्रैमासिक रूपमा भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन्, २०७८ मा चौथो उपमेयर कप छात्रा क्रिकेटको आयोजनासमेत गर्याैँ, क्रिकेटमा छात्राहरू आकर्षित भएका छन्,’ उनले भने ।
प्रअ खत्रीका अनुसार जिल्ला, प्रदेश मात्रै नभएर राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा समेत छात्राहरू सहभागी भएका छन्, चार जना त राष्ट्रिय खेल खेल्नका लागि छनोटसमेत भएका छन् । सरकारको कार्यविधि अनुसारको मापदण्ड पूरा गरेर पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको यो विद्यालय कोहलपुरका ३१ वटा सामुदायिक विद्यालयमध्ये एउटा मात्र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भएको विद्यालय हो ।