२०८३ जेठ १६ , शनिबार 30, May 2026, Saturday

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरु निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योगसमेत इलाममा नै रहेको छ । १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ ।

कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएसँगै तिनको प्रशोधन गर्ने उद्योगको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । कृषिमा चियादेखि किबी, सुन्तला, अलैँची, अदुवा, दूधजन्य वस्तु यहाँ उत्पादन हुने गर्दछ । इलाममा चिया प्रशोधन र तयार गर्ने सयौँ उद्योग छन् । यहाँ उत्पादित चिया नेपालका विभिन्न क्षेत्रसहित भारत र तेस्रो मुलुक निर्यात हुँदै आएको छ ।

उत्पादन भएका वस्तु प्रशोधन गर्ने उद्योग स्थापना गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ । जिल्लामा हालसम्म चार हजार ५६२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ । यहाँ कृषि तथा वन पैदावारमा आधारित दुई हजार ४५० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी किरण कार्कीले जानकारी दिए ।

उनका अनुसार सेवामूलक एक हजार ३०९ र उत्पादनमूलक ४६७ उद्योग दर्ता भएका छन् । यस्तै पर्यटनतर्फ ३२५, सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रविधिमा आधारित ६ वटा, ऊर्जामूलक चार र खनिजतर्फ एउटा उद्योग दर्ता भएका छन् । इलाममा सञ्चालन भएर पनि धेरै उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छैनन् ।

यहाँ उत्पादन भइरहेका ऊर्जामूलक अर्थात् जलविद्युत् आयोजनाहरु कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा दर्ता भएर सञ्चालन भइरहेका छन् भने चारवटा आयोजना मात्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको पाइएको छ । इलाममा चारवटा नदीमा २० भन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् ।

सबै चियाका उद्योगसमेत यहाँ दर्ता भएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा ६५ वटा मात्र उद्योग दर्ता भएको तथ्यांक छ । जबकि कम्पनी रजिस्ट्रारको कार्यालयमा इलामका लागि भनेर एक हजार १४ उद्योग दर्ता भएका छन् । जिल्लामा दुई सयभन्दा बढी चियाका उद्योग सञ्चालनमा रहेको अनुमान छ ।

सबै पालिकामा चिया उत्पादन हुन्छ । इलाममा राम्रो अलैँची उत्पादन हुने भए पनि प्रशोधन गर्ने कुनै उद्योग छैन । नेपालमा उत्पादन हुने अलैँची भारत भएर विभिन्न मुलुकमा निर्यात हुने गर्दछ । अलैँची जिल्लामै यसको राम्रो प्रशोधन गर्ने उद्योग भएको भए निकै राम्रो मूल्य पाउन सकिने किसानहरु बताउँछन् ।

भारतीय व्यापारीको मूल्यमा आफूहरुले अलैँची बिक्री गर्नुपरेको उनीहरुको भनाइ छ । औषधीय गुण भएको अलैँचीको उपयोग मसलाका रुपमा मात्र नभइ अत्तरसमेत निर्माण हुने गर्दछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि चार अर्ब १५ करोड रूपैयाँ बराबरको अलैँची भारत निर्यात भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिकटन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव २०८–०८१ मा एक हजार ५२५.९६ मेट्रिकटन अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ । यहाँबाट प्रशोधन नभइ अदुवासमेत निर्यात हुने गरेको छ भने यहाँको कुचो पनि कच्चा सामग्रीकै रुपमा निर्यात हुने गरेको छ ।

इलाममा उत्पादित वस्तु पूर्वी नाका भएर विदेश जाने गरेको छ । मेची भन्सार कार्यालयबाट अलैँची, चिया र अदुवा मात्रै रु ४९ अर्ब बराबरको निर्यात भएको जनाइएको छ । कार्यालयबाट आव २०७६७७ देखि गत आव २०८०८१ सम्म ४९ अर्ब ५० लाख ३५ हजार रूपैयाँ बराबरको अलैँची, चिया र अदुवा निर्यात भएको बताइएको छ ।

सबैभन्दा बढी तीन करोड ३७ लाख ६३ हजार किलोग्राम अलैँची भारत निकासी हुँदा ३२ अर्ब दुई करोड ८५ लाख ६५ हजार रूपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको कार्यालयले जनाएको छ । पाँच आर्थिक वर्षमा सोही नाकाबाट ६ करोड २१ लाख ८३ हजार ४०४ किलोग्राम चिया निर्यात भएको उल्लेख छ ।

यसबाट १४ अर्ब ९१ करोड ८७ लाख ३४ हजार रूपैयाँ नेपाल भित्रिएको छ । यस्तै, सो अवधिमा चार करोड १७ लाख ९७ हजार ७७० किलो अदुवा निर्यात भइ दुई अर्ब पाँच करोड ७७ लाख ३६ हजार रूपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । इलाममा मात्र कुल ७८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिकटन उत्पादन भएको थियो । किबीलाई यहाँ केही किसान आफैले घरायसी मदिरा बनाउने गरेका छन् । किबीबाट जुस, जाम अचारलगायत अन्य थुप्रै वस्तु निर्माण गर्न सकिने भए पनि यस सम्बन्धी उद्योग स्थापना नहुँदा किसानले मूल्य पाएका छैनन् । कोशी प्रदेशमा हालै सम्पन्न लगानी सम्मेलनमा पनि जिल्लाका कृषिजन्य वस्तुको प्रशोधन सम्बन्धी ठोस प्रस्ताव परेको छैन ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार