२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

नरैनापुरका ३५० परिवारलाई लालपुर्जा

बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिका–३ मा बर्सौंदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

बर्सौंदेखि भोगचलन गर्दै आए पनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाएका स्थानीयलाई कानुनी रीत पुर्याएर लालपुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । उनले भने, ‘घरबास नभएका, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई पनि लगत सङ्कलन गरेर केही दिनमै पुर्जा वितरण गर्छौं ।’

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँ ब्लक मानिँदै आएको छ । नरैनापुरको गाउँ ब्लकभित्र पर्ने जग्गामा बर्सौंदेखि ३५० परिवारले खनजोत र भोगचलन गर्दै आए पनि जग्गाधनी प्रमाणपत्र पाउन सकेका थिएनन् । गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले पालिकाभित्रका अन्य विभिन्न वडाका गाउँ ब्लकमा रहेकालाई पनि जग्गाधनी प्रमाणपत्र वितरण गरिने जनाउँदै सो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकालाई गाउँपालिकाले नापी कार्यालय बाँकेको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको जानकारी दिए । नापी कार्यालय बाँकेका प्रमुख नापी अधिकृत गणेश्वर यादवले गाउँ ब्लकको नापजाँच निरन्तर भए पनि पुर्जा वितरण हुन नसकेको उल्लेख गर्दै अहिले जग्गाधनी पुर्जा वितरण सुरु गरिएको जानकारी दिए ।

उनले गाउँ ब्लकको जग्गा नापजाँच, दर्ता र पुर्जा वितरण गर्नुपर्ने भए पनि पुर्जा वितरण हुन नसकेकोमा यो कामलाई छिटै पूरा गर्ने गरी अगाडि बढाइएको स्पष्ट पारे । उनले थपे, ‘बर्षौंदेखि रोकिएको समस्या थियो । आफ्नै जमिन हुँदाहुँदै पनि भूमिहीन जस्तो भएर बस्नुपर्ने अवस्थाबाट नागरिकलाई मुक्ति मिलेको छ ।’

यसैगरी बाँकेको कोहलपुर नगरपालिका लगायत अन्य पालिकामा पनि भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारी तीव्र पारिएको छ । विभिन्न पालिकामा लालपुर्जा वितरण गर्न सरकारी जग्गा नापजाँच, लगत सङ्कलन र लालपुर्जा तयार पार्ने कार्य तीव्र पारिएको भूमि समस्या समाधान आयोग बाँकेले जनाएको छ ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुरमा पहिलो चरणमा भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण गरिने बताए । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिका–५, रामगाउँबाट जग्गा नापजाँच शुभारम्भ हुँदा पालिकाभित्रका सबै भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई छिट्टै लालपुर्जा वितरण गरिने बताए ।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार