२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

असारभित्रै बाँकेका तीन वटा पालिकामा बाँडिदै लालपुर्जा

भूमि आयोग बाँकेले जिल्लाका तीन वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०८१–०८२ भित्रै लालपुर्जा बाँड्ने तयारी गरेको छ । आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लाको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडाहरूमा जग्गा नाप जाँच गरी लालपुर्जा बाँड्ने तयारी अगाडी बढाइएको जानकारी दिए ।

‘यी पालिकाहरूमा जग्गा नाप जाँचको काम चलिरहेको छ, आगामी असार मसान्तभित्र यी पालिकाको केही वडाहरूमा लालपुर्जा वितरण गर्ने आयोगको योजना छ,’ उनले भने । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीमा आइतबार जग्गा नाप जाँच शुभारम्भका क्रममा आयोग अध्यक्ष खनालले आफ्नो कार्यकालमा जिल्लाका सबै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुजाँ बाँडिने बताए ।

आयोग बाँकेका अनुसार जिल्लाभर ५३ हजार ७०५ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छ । यी मध्ये ४३ हजार २२६ परिवार अव्यवस्थित बसोबासी, ६ हजार ७९८ परिवार भूमिहीन सुकुम्बासी र ३ हजार ६८१ परिवार भूमिहीन दलित रहेका छन् । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले राम्रो कामको सुरुवात जहिले पनि बैजनाथ–७ बाट आफूहरूले गर्दै आएकोमा जग्गा नापजाँचको काम पनि सोही वडाबाट सुरु गरिएको बताए ।

उक्त वडाको पेडारी ‘सहिद’ बैजनाथ थारुको जन्म गाउँ हो । २००७ सालको आन्दोलनका क्रममा उनी सहिद भएका थिए । ‘हामीले असार मसान्तभित्रमा लालपुर्जा बाँड्ने तयारी गरेका छौँ, कुनै पनि विवाद आयो भने वडामा रहेको सहजीकरण समितिले समाधान गरिदिनुपर्छ,’ अध्यक्ष शाहीले भने । भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने काममा सबै राजनीतिक दलले अपनत्व लिनुपर्ने उनले बताए ।

‘सानातिना विवादमा कोही पनि अल्झिनु हुँदैन, नाप जाँच गरिसकेपछि पनि धेरै चरणहरू पार गर्नुपर्छ,’ उनले भने । अध्यक्ष शाहीका अनुसार बैजनाथ गाउँपालिका भरी कुल १० हजार ११२ परिवार भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छन् । यी मध्ये ७ हजार ५७४ परिवार अव्यवस्थित बसोबासी, १ हजार ६०८ परिवार भूमिहीन सुकुम्बासी र ९३० परिवार भूमिहीन दलित रहेका छन् ।

बैजनाथ–७ का वडाअध्यक्ष दिनेशकुमार थारुले जनताका लागि बोल्ने भन्दा पनि काम गरेर देखाउनुपर्ने बताए । ‘जग्गा नापजाँचको काम छिटोभन्दा छिटो सम्पन्न गरेर रिजल्ट ल्याउनुपर्छ,’ उनले भने ‘जनताले धेरै वर्षदेखि आशा गरेर बसेका छन् ।’ गत वर्ष पनि बैजनाथ–७ को पेडारीमा आयोगले जग्गा नापजाँचको काम सुरु गरेको थियो । त्यसको भोलिपल्टै सरकारले आयोगलाई विघटन गरेपछि काम बिचमै रोकिएको हो ।

प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार