त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिसाको आवरणमा भएको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा यही अध्यागमन प्रयोग गरी ठुलो सङ्ख्यामा भारतीय नागरिकसमेत तेस्रो मुलुक पुगेको पाइएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधि सभा अवरुद्ध छ ।
पक्ष विपक्षमा भइरहेको बहसले अनुसन्धानको पाटो नै ओझेलमा परेको छ । यहीबिचमा नेपाली मात्र नभई ठुलो सङ्ख्यामा छिमेकी मुलुकका नागरिक पनि भिजिट भिसामा तेस्रो मुलुक पुगेको खुलेको हो । अध्यागमन स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो आठ वर्षमा ७५ हजारभन्दा बढी भारतीय नागरिकसमेत त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक पुगेको पाइएको हो ।
विसं २०७४ फागुनदेखि हालसम्म ७५ हजार ८६४ जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलङ्का लगायतका मुलुकमा पुगेको पाइएको हो ।
२०८० साल फागुन २३ गतेदेखि २०८१ साल असार ३० गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेको दोस्रो कार्यकालमा सात हजार ४० जना र पहिलो कार्यकालमा एक हजार २३९ जना गरी कुल आठ हजार २७९ जना भारतीय नागरिकलाई तेस्रो मुलुक जान अनुमति दिएको पाइएको छ । जुन औसत दैनिक ५८ जना हो ।
सो अवधिमा अध्यागमन प्रयोग गर्दा सम्बन्धित देशले जारी गर्ने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) बिना नै भ्रमण अनुमति दिएको पाइएको छ । रास्वपा सभापतिसमेत रहेका लामिछाने हाल सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन् ।
त्यसअघिका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकाल २०७९ साल चैत १७ देखि २०८० साल फागुन १३ गतेसम्म एक वर्ष तीन दिनमा १४ हजार सात जना भारतीय तेस्रो मुलुक पुगेको देखिएको छ । यो सङ्ख्या दैनिक औसत ३८ जना हो । श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष छन् ।
श्रेष्ठअघि २०७८ साल असार २९ गतेदेखि २०७९ साल पुस ११ गतेसम्म गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको १७ महिने कार्यकालमा २४ हजार ६२१ जना भारतीय नागरिक त्रिवि अध्यागमनबाट तेस्रो मुलुक पुगेको पाइएको छ । यो सङ्ख्या दैनिक औसतमा ४७ जना हो ।
खाण अघि २०७४ साल फागुनदेखि २०७८ साल असार २८ गतेसम्म गृहमन्त्री रहनुभएका रामबहादुर थापा ‘बादल’को तीन वर्ष चार महिना १६ दिनको कार्यकालमा १५ हजार ३२ जना भारतीय बाहिरिएको पाइएको छ । यो दैनिक औसतमा १२ जना हो । बादल तत्कालीन नेकपा नेता र हाल नेकपा एमालेका उपाध्यक्ष छन् ।
हालका गृहमन्त्री रमेश लेखकले जिम्मेवारी सम्हालेको विसं २०८१ असार ३० गतेदेखि हालसम्मको ११ महिनामा १३ हजार ७८८ जना भारतीय त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक गएको पाइएको छ । जुन दैनिक औसत ४१ जना रहेको पाइएको छ । लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । अध्यागमनको रेकर्डमा नेपाली रुट प्रयोग गरी भारतीय नागरिक लामो समयदेखि तेस्रो मुलुक आवतजावत गरेको पाइएको छ ।
सुरक्षामा उठ्न सक्छ प्रश्न
विश्वका हरेक देशको अध्यागमन प्रयोग गरी दोस्रो देशका नागरिक तेस्रो मुलुक आउजाउ गर्नु समान्य नै हो तर यसरी भ्रमण अनुमति दिँदा यात्रुको पूरा विवरण र सम्बन्धित देशको पूर्वस्वीकृति वा ‘ट्राभल एड्भाइजरी’ पूर्णरूपमा लागु गरिएको हुन्छ तर नेपालको अध्यागमनबाट भने एनओसी वा ट्राभल एड्भाइजरीको पूर्ण पालना नभएको भन्दै प्रश्न उठ्ने गरेको छ । यसले राष्ट्रिय सुरक्षामा नै गम्भीर प्रश्न उठन सक्ने भनी विज्ञबाट चिन्ता व्यक्त भइरहेको छ ।
अध्यागमनबाट त्रुटि भए मुलुकको सुरक्षामा प्रश्न उठ्छ
सीमा सुरक्षाविज्ञ तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी नेपाल–भारतबिचको खुला सिमानाको दुरुपयोग गरी अन्तरदेशीय अपराधले प्रश्रय पाउन सक्नेतर्फ राज्य चनाखो हुनुपर्ने बताउँछन् ।
मुलुकको अध्यागमन दुरुपयोग हुन नदिने सुरक्षा व्यवस्था प्रभावकारी हुनुपर्ने बताउँदै भण्डारी भन्छन्, ‘अध्यागमन केवल पासपोर्ट र भिसा चेकजाँच गर्ने, पासपोर्टमा छाप लगाउने मात्र निकाय होइन । त्यहाँबाट हुने शङ्कास्पद वा जुनसुकै प्रकारका आपराधिक गतिविधिमाथि कडा निगरानी हुनुपर्छ ।’
उनले जुनसुकै मुलुकका नागरिकलाई तेस्रो मुलुकको भ्रमण अनुमति दिँदा ट्राभल एड्भाइजरी र एनओसीलगायत सम्बन्धित व्यक्तिको पूरा विवरण लिएर मात्र अनुमति दिनुपर्ने बताए । अध्यागमनबाट सामान्य त्रुटि भए मुलुकको समग्र सुरक्षामै प्रश्न उठ्ने भएकाले अध्यागमनमा सुरक्षा निकायको समेत उपस्थिति रहनुपर्ने उनी बताउँछन् ।
द्वन्द्वग्रस्त मुलुकमा पुगेर जोखिममा पर्न सक्ने खतरा
त्रिवि अध्यागमनबाट पछिल्लो समय भिजिट भिसामा कडाइपछि नेपाली भारतीय अध्यागमन प्रयोग गरी प्रतिबन्ध तथा द्वन्द्वग्रस्त मुलुकमा जान सक्ने र जोखिममा पर्न सक्ने भएकाले राज्यले त्यसतर्फ पनि ध्यान दिनुपर्ने राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा बताउँछन् ।
शर्मा भन्छन्, ‘दैनिक ठुलो सङ्ख्यामा दोस्रो मुलुकका नागरिक अध्यागमनबाट बाहिर जाँदा हाम्रा नागरिक पनि दोस्रो मुलुकबाट जोखिमयुक्त मुलुकमा जाने गरेको हुन सक्छ त्यसतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’
शर्माले दोस्रो मुलुकका नागरिकलाई सहज भ्रमण अनुमति दिँदा आतङ्कवादी गतिविधिले प्रश्रय पाउन सक्ने भएकाले आधिकारिक कागजपत्र, व्यक्तिको पहिचान गरी सम्बन्धित देशको अनुमतिपछि मात्र भ्रमण स्वीकृति दिनुपर्ने बताउँछन् ।
उनी छिमेकी मुलुकमा आतङ्कवादी हमला र गतिविधि बढिरहेका बेला आतङ्कवादमा संलग्न व्यक्तिले खुला सीमा दुरुपयोग गरी नेपालमा आएर लुक्ने र नक्कली कागजपत्र देखाएर तेस्रो मुलुक पुग्ने खतरा रहेकाले त्यसतर्फ चनाखो हुनुपर्ने बताउँछन् ।
एनओसीको पूर्ण पालना गर्नुपर्छ
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल छिमेकी मुलुकका नागरिकले त्रिभुवन विमानस्थल प्रयोग गरी तेस्रो मुलुक आउजाउ गर्ने क्रम दशकौँदेखि चल्दै आएको बताउँछन् । रिजाल भन्छन्, ‘अध्यागमन प्रयोग गरी दोस्रो मुलुकका नागरिक तेस्रो मुलुक जानु कुनै नौलो विषय होइन । संसारभर नै यस्तो चलन छ तर सुरक्षाको दृष्टिले अध्यागमन अत्यन्तै संवेदनशील मान्छिन् ।
उनका अनुसार यात्रा अनुमति दिँदा सम्बन्धित देशले जारी गरेको एनओसी पूर्णरूपमा पालना गर्नैपर्छ । महानिर्देशक रिजालले नेपालको अध्यागमन सुरक्षालाई थप प्रभावकारी बनाउन एनओसी अनिवार्य गरिएको बताए । उनले अध्यागमनको सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन सम्बन्धित देशको ट्राभल एड्भाइजरी र एनओसीलाई कडाइका साथ लागु गरिएको बताए ।