२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

व्यवसायीलाई धम्काएर रकम असुल्ने डीआइजीका घुमुवासहित पाँच जना फन्दामा

व्यापारीलाई धक्काएर पाँच लाख रुपैयाँ असुलेको खुलेको आरोपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् ।

साथै, पक्राउ पर्ने अन्य दुईजनाले आफूलाई ‘पत्रकार’ भनेर चिनाउने एक व्यवसायी र अर्को भ्रष्टाचार विरोधी अभियन्ता रहेको प्रहरीले जनाएको छ । मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।

बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार कोहलपुर नगरपालिका वडा ११ पुरानो बसपार्क नजिकको थ्रिस्टार मोबाइल पसलका सञ्चालक लक्ष्मण कुँवरको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जेठ २९ गते पसल सञ्चालक कुँवरले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए ।

आफूलाई राजस्वको कर्मचारी बताएको र पाँच लाख नदिए फसाइदिने भन्दै डर–धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेका छन् । कुँवरको निवेदनपछि सोहीदिन लुम्बिनी प्रदेश प्रहरीबाट लागुऔषध नियन्त्रणका लागि पाँचै जनालाई पक्राउ गरिएको डिएसपी खनालले बताइन् । उनका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ ।

कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट लागूऔषधसहित लगायतका मुद्दामा फसाइदिने भन्दै रकम असुली गर्ने तीनजना घुमुवा प्रहरीसहित पाँच जना पक्राउ परेका छन् । पसलका सञ्चालकलाई डर, धम्की देखाएर पाँच लाख रूपैयाँ असुली गर्ने कार्यमा संलग्नको आरोपमा उनीहरु पाँचै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्
डीआइजीका घुमुवाले कोहलपुरको मोबाइल पसलबाट पाँच लाख असुलेको खुलासा

पक्राउ परेकाहरूविरुद्ध मोबाइल पसल सञ्चालकले आफूलाई विभिन्न मुद्दामा फसाइदिने डरत्रास देखाएर पाँच लाख रूपैयाँ जबरजस्ती असुलेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले जानकारी दिइन् । उनीहरूविरुद्ध किटानी जाहेरी परेपछि बाँकेका विभिन्न स्थानबाट उनीहरूलाई गत बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ । बुधबार पक्राउहरुलाई बाँके जिल्ला अदालतबाट बिहीबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको डीएसपी खनालले जानकारी दिइन् । प्रहरी स्रोतले भने प्रारम्भिक अनुसन्धान सुरु भएकाले पाँच लाख रूपैयाँ असुलीको घटनामा अन्यको संग्लनता देखिए उनीहरूलाई समेत पक्राउ गरिने जनाएको छ ।

खान र बर्माद्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले बाँके, बर्दिया जिल्ला हेर्नेगरी खटाएका घुमुवा प्रहरी हुन् । दुवैजनाको दरबन्दी प्रहरीको लागूऔषध ब्युरोमा रहेपनि डीआइजी भट्टले दुई जिल्ला हेर्ने गरी मौखिक रूपमा जिम्मा दिएका थिए । त्यस्तै अर्का चौधरी चौलिकामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका सशस्त्र प्रहरीका घुमुवा हुन् ।

उनीहरूले पसलमा बार्गेनिङ गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डको जानकी गाउँपालिका–६ प्रिप्रहवाको एक खाजा पसल अगाडि पाँच लाख रूपैयाँ नगद बुझेका थिए । भारतीय नम्बर प्लेटको यूपी५०एए ९८८५ नम्बरको कार चढेर उनीहरू रकम बुझ्न पुगेका उनीहरुले कारमा पैसा राख्न लगाएपछि पाँच लाख नगद रूपैयाँ भारतीय नम्बर प्लेटको कारमा राखेको पीडितको भनाई छ । ती व्यवसायीले भने, ‘पसलमा आएर लागूऔषध लगायतका मुद्दामा फसाइदिने धम्की दिएपछि मंहगो ब्याजमा सापटी लिएर पैसा बुझाएको हुँ ।’

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार