२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

बाँदर आतङ्क रोक्न ‘बाँदर बगैँचा’

ग्रामीण क्षेत्रका किसान र स्थानीय सरकारकै लागि टाउको दुःखाइको विषय बनेको ‘बाँदर आतङ्क’लाई अनेक जुक्ति लगाएर नियन्त्रणको प्रयास थालिएको छ । हुल बाँधेर आउने बाँदरले किसानको बाली सखाप पार्नुका साथै मानिस माथिनै आक्रमण गर्ने घटनाहरु बढ्न थालेपछि ग्रामीण क्षेत्रका बस्ती रित्तिदै गएका छन् भने खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ ।

ग्रामीण क्षेत्रमा मानवीय गतिविधि बढाउन यहाँका स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाएर बाँदर आतङ्क नियन्त्रणको प्रयास थालेका हुन् । यहाँको जैमिनी नगरपाकिाले बाँदर आतङ्क रोक्न ‘बाँदर बगैँचा’ बनाउने योजना कार्यान्वयन गर्ने भएको छ भने काठेखोला गाउँपालिकाले सामुदायिक वनको सहारा लिने भएको छ ।

तीन वर्षदेखि चर्चामा सिमित बनेको ‘बाँदर बगैँचा’को निर्माणको कामलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने घोषणा गरेको छ । बाँदर आतङ्ककै कारण किसानले बस्ती छाडेर बसाई सरेको, जमिन बाँझो हुँदा कृषि उत्पादकत्व घट्दा खाद्यन्न आयात गर्ने क्रम बढ्दै गएपछि ‘बाँदर बगैँचा’को काम थाल्नैपर्ने निष्कर्षमा पुगेको जैमिनीका नगर प्रमुख नरबहादुर पुनले बताए ।

जैमिनीले वडा नं. ८ छिस्तीको पुरानो गाउँमा ‘बाँदर बगैँचा’ निर्माणको काम गर्दैछ । ‘वन ऐन, वन्यजन्तु सम्बन्धी कानुनले बाँदर बगैँचा निर्माणको काम रोकिएको थियो । बाँदरलाई सङ्घीय सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने सुरु गरिने छ,’ पुनले भने ।

बाँदर बगैँचामा किसानको बालीमा क्षति पुर्याउने बाँदरहरु राख्ने योजना छ । ‘बाँदर आतङ्कबाट आजित किसानलाई बगैँचाले राहत पुर्याउने छ भने अनुसन्धान केन्द्र र आकर्षक पर्यटकीय गन्तव्य बन्न पनि सक्छ,’ पुनले भने । पुरानो गाउँ पर्यकीय पूर्वाधार तथा बाँदर बगैचाको लागि जैमिनीले तीन लाख बजेट विनियोजन गरेको छ ।

जैमिनी १ को भण्डारा गाउँबाट मात्रै पछिल्लो दुई वर्षमा ४२ घरका १५७ जनाले काठमाडौँ, चितवन, बुटवल, पोखरा, बागलुङ बजारमा बसाइँ सरेका छन् । तीन वर्षअघिसम्म गुल्जार भण्डारा गाउँ अहिले मानवरहित सिङ्गो बस्ती अनकन्टार बन्ने अवस्थामा पुगेको छ । केही वर्षअघि ७६ घरपरिवार रहेको भण्डारामा अहिले एकाद घरमा सीमित भएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताउँछन् ।

रैथाने बालीको उत्पादन बढाउने नीति लिएको जैमिनीले सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरी बजारीकरण गर्ने नगर प्रमुख पुनले योजना सुनाए । रैथाने बालीको उत्पादन बढाउन जैमिनीले सात लाख बजेट विनियोजन गरेको छ । बाँदर प्रभावित क्षेत्रमा मसलेदार तथा फलफुल बाली लगाउन तीन लाख बजेट छुट्टाइएको छ ।

यस्तै, काठेखोलाले वनमै बाँदरका लागि खानाको व्यवस्थापन गरेर बाँदर नियन्त्रण गर्ने नीति लिएको छ । सामुदायीक वनमा फलफुल तथा गिठा, भ्याकुर, तरुल लगायतका कन्तमुल लगाएर बाँदर आतङ्क नियन्त्रणको प्रयास थालिने काठेखोलाका अध्यक्ष राजु थापाले बताए । गत वर्ष पालिकाले सामुदायीक वन तथा बाँझो जग्गामा कन्दमुल लगाउने कार्यक्रम ल्याएको थियो । गतवर्ष पूरा गर्न नसकिएको कार्यक्रमलाई यसवर्ष मुर्तरुप दिइने अध्यक्ष थापाको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार