कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ मा रहेको चेतना सामुदायिक वन, वडा नं ३ मा रहेको मुक्तकमैया सामुदायिक वन, जानकी गाउँपालिका–८ र ९ स्थित अमरावती सामुदायिक वन र मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधि व्यवस्थापन आयोजना’ अन्तर्गत पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । कँडेलका अनुसार आयोजनाले पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन जनावर र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ ।
कर्णाली करिडोरअन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छन् । ती क्षेत्रमा चिसापानी, लम्की र टीकापुर सब–डिभिजन वन कार्यालयमार्फत आयोजना सञ्चालित भएका हुन् ।
उक्त आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दी जैविकमार्गका साथै सुदूरपश्चिम प्रदेशको ब्रह्मदेव जैविकमार्ग कञ्चनपुर र कैलालीको कर्णाली जैविकमार्गमा सञ्चालन भइरहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिए ।
थापाका अनुसार यो आयोजना ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (जिइएफ) र वल्र्ड वाइल्डलाइफ फन्ड (डब्लुडब्लुएफ) को सहयोगमा वन तथा वातावरण मन्त्रालयमार्फत तराई भूपरिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्ग संरक्षणमा सञ्चालित छन् ।
जङ्गलमा पोखरी निर्माणपछि वन्यजन्तु पानी खान आउन थालेको जालपा सामुदायिक वनका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार पाटेबाघ, चित्तललगायतका वन्यजन्तु पानी खानका लागि पोखरीमा आउने गरेका छन् । पोखरी निर्माणले वन्यजन्तु आउने गरे पनि छेउमा राखेका सेतो होडिङ बोर्डका कारण भने समस्या हुने गरेको अध्यक्ष खत्रीले बताए ।