यस वर्षको मनसुनजन्य विपद्बाट सिन्धुपाल्चोकका २२२ वटा बस्ती उच्च जोखिममा पर्न सक्ने आकलन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका अनुसार उक्त बस्तीका १७ हजार ८२ जना नागरिक बाढीपहिरोबाट प्रभावित हुने अनुमान गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकामा २१ बस्ती उच्च जोखिममा छन् । त्यस बस्तीका ७७० जना नागरिक प्रभावित हुने भएका छन् । बाह्रबिसे नगरपालिकाका ६३ बस्तीका ८०५ नागरिक जोखिममा रहेका छन् । त्यस्तै मेलम्ची नगरपालिकाका सात वटा बस्ती उच्च जोखिममा देखिँदा बस्तीका ५०० नागरिक जोखिममा रहेका छन् ।
उत्तरी भेग भोटेकोशी गाउँपालिकाका ५३ बस्ती उच्च जोखिममा देखिएका छन् । त्यस पालिकाका ८०५ नागरिक प्रभावित हुने बताइएको छ । त्रिपुरासुन्दरीका ७०० बस्तीका १७१ जना नागरिक जोखिममा रहेका छन् । यसैगरी सुनकोशी गाउँपालिकाका ११ बस्ती उच्च जोखिममा छन् । त्यस बस्तीका ३०६ जना नागरिक अप्ठ्यारोमा रहेका छन् ।
त्यस्तै लिसङ्खुपाखरका १० बस्ती जोखिममा हुँदा ३०० नागरिक त्रसित हुने गरेका छन् । यसैगरी बलेफी, जुगल, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका अधिकांश बस्ती पनि जोखिममा रहेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्षको बाढीपहिरोले सिन्धुपाल्चोकका ठुलासाना गरी ४४ वटा नदीखोला थुनिएर तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरेको छ ।
मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नपा, बाह्रबिसे नपाका मेलम्ची, इन्द्रावती नदी, ब्रह्मायणी नदी, सुनकोशी, भोटेकोशी नदी लगायतका १७ वटा नदीनाला र भोटेकोशी गापा, सुनकोशी गापा, जुगल गापा, बलेफी गापा लगायत नौ गापाका २८ वटा नदीनाला थुनिन सक्ने सो समितिको अनुमान छ ।
उक्त नदीनाला, खोला थुनिनसक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरण गर्न एक्साभेटर, डोजर, टिप्पर लगायतका उद्धार सामग्री तयारी हालतमा राखेको छ । उक्त समितिले मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्लास्थित सशस्त्र प्रहरी, नेपाली सेना, सङ्घ संस्था लगायतका सरोकारवालासँग उद्धार, राहत, सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले मनसुनजन्य विपत्लाई ध्यानमा राख्दै उच्च जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनःस्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि आवश्यक काम गरिरहेको जानकारी दिएका छन् ।
विपत् प्रतिकार्यको तयारी, सम्भावित विपत्बाट मानवीय क्षति हुन नदिने उपायका लागि ‘क्विक रेस्पोन्स टिम’ तयारी हालतमा राखिएको प्रजिअ थापाले बताए । यस्तै मनसुनजन्य विपत् जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि तीन करोड तीन लाख दुई हजार ६१५ रुपैयाँ विपद् कोषमा तयारी हालतमा रहेको प्रजिअ थापाले बताए ।
मनसुनजन्य विपत् प्रतिकार्य योजना कार्यान्वयनका लागि २० वटा जेसिभी डोजर, १७ वटा एक्साभेटर, ५०० वटा यातयातका साधन, एउटा वारुणयन्त्रका साथै भाँडावर्तन, खाद्य सामग्री लगायतका सामान तयारी हालतमा राखिएको उनले बताए । आपत्कालीन उद्धारका लागि ३०० जना स्वयंसेवक उद्धारकर्ता, ८१३ जना नेपाली सेना, ४५० जना नेपाल प्रहरी र ३०८ जना सशस्त्र प्रहरीलाई तयारी हालतमा राखिएको छ ।
विपद्का बेला दुई हजार उद्धारकर्ता स्वयंसेवक, सुरक्षा निकाय तुरुन्तै खटिन सक्ने तयारी हालतमा राखिएको छ । मनसुनजन्य विपत् प्रतिकार्यका लागि ‘जिल्ला मनसुनजन्य प्रतिकार्य ‘कमान्ड पोस्ट’ निर्माण गरिएको छ । विपत्का बेला उक्त कमान्ड पोस्टले समग्र प्रतिकार्यको काम गर्छ ।
नेपाल रेडक्रस सोसाइटी, विपद्जन्य घटनाका विज्ञ, प्रहरी, सेना, सशस्त्र लगायतको टोली उक्त कमान्डमा तयारी हालतमा रहेको प्रजिअ थापाले जानकारी दिए । विपद्को अवस्थामा यथाशीघ्र प्रयोग गर्न मिल्ने गरी जिल्लाका २६ स्थानमा हेलिप्याड निर्माण गरिएको छ । अन्य ९९ खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी राखिएको छ । त्यसमा एक लाख ५० हजार मानिसलाई आपत्कालीन अवस्थामा स्थानान्तरण गराउन सकिनेछ ।