२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

बाँकेमा ‘समुदाय विपद् स्वयंसेवक’ तयार

बाढी डुबान लगायतका मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न बाँकेमा पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले युवाहरुलाई तालिम दिएर पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो ।

सशस्त्र प्रहरी–बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जले २५ जना युवालाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक बनाएको हो । मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका २५ जना युवाहरूलाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक तयार पारिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

उनले स्थानीय तह र वडा स्तरमा विपद् स्वयंसेवक तथा विपद् सूचकहरू तयार पार्ने नीति अनुसार युवालाई तालिम प्रदान गरिएको बताए । अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका विपद्का हिसाबले अत्यन्तै जोखिममा रहेकाले बढीभन्दा बढी समुदाय विपद् स्वयंसेवक तयार गर्न जरुरी रहेको बताए ।

समुदायस्तरमा घट्ने विभिन्न विपद्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवन रक्षाका लागि पहिलो उपचार गर्न स्थानीय नागरिकलाई सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोदकुमार भारतीले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जको आयोजना, राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा कारितास नेपाल र बी–ग्रुपको सहजीकरण र सहकार्यमा स्वयंसेवकका लागि तालिम सञ्चालन गरिएको थियो ।

तालिममा नेपालमा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन सम्बन्धी जानकारी, मेडिकल फस्र्ट रेस्पोण्डर अर्थात् विपद् स्थलमा पुगेपछि घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचारसम्बन्धी सीप सिकाउने, बाढीपहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नी नियन्त्रण र वन डढेलो नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सीप प्रदान गरिएको छ ।

त्यस्तै डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धार लगायतका विषयवस्तुमा सीप प्रदान गरिएको प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले बताए । १८ दिनको तालिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा प्रदान गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वर डिसीले बताए ।

सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा ५०० जना विपद् स्वयंसेवक तथा विपद् सूचकहरू तयार गर्दैछ । आगामी आर्थिक वर्षभित्र देशभर तीन हजार ६७५ जना समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरू तयार गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रत्येक वडामा २५ जना विपद् सूचक तयार गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार