पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला अदालत काठमाडौँमा नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले पाठकविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको तारे होटल हिल्टनसहित अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रसारण गरेका थिए ।
उक्त भिडियो, स्क्रिनसट र कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरिएको छ । प्रहरीले पाठकको बयान नलिई मुद्दा दायर गरेको छ । यसअघि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ (१) अनुसार सजाय माग गरिएको छ, जसमा १ लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कैद वा दुवै हुन सक्छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ ।
देउवा परिवारको उजुरीमा जाहेरवालाको नाम भने खुलाइएको छैन । पाठकलाई क्षतिपूर्ति तिराउनसमेत माग गरिएको छ । यसअघि साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पाठक पक्राउबाट जोगिएका थिए ।
यद्यपि प्रहरीले पाठकलाई पक्राउ नगरे पनि उनलाई फरार प्रतिवादीका रूपमा प्रस्तुत गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा रायसुझाव पठाएको थियो । सोही रायको आधारमा सोमबार औपचारिक रूपमा मुद्दा दर्ता गरिएको हो ।
पाठकले सञ्चालित युट्युब च्यानलमार्फत प्रसारित सामग्रीले आफ्नो चरित्रहत्या भएको भन्दै जयवीर देउवाले जाहेरी दिएका थिए । सो प्रकरणले सामाजिक सञ्जाल तथा मिडियामा व्यापक चर्चा पाएको थियो ।