२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

धनगढीमा बाढी, दुई हजार घर डुवानमा, आठ जनाको उद्धार

आइतवारदेखि लगातार वर्षा हुँदा कैलालीको धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ ।

त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ । सूचना अधिकारी जोसीले गएरातिदेखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए ।

जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ । गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजार लगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।

मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन् ।

त्यस्तै, अधिकांश पसल पनि डुबानमा परेका छन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ । अव्यवस्थित तथा पुराना नालीका कारण अलि पनि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सृजना हुने गरेको छ ।

पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको स्थानीय अगुवा शिवराज जोशीले बताए ।

पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष धर्मराज ओझाकोे भनाइ छ । धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार