२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए, रास्वपाको हस्ताक्षर ‘महंगो’

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशले अहिले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका लामिछाने त्यहाँबाट पनि छुट्न सकेनन्, सर्वोच्चले उच्चको पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरिदियो ।

त्यसयता लामिछाने, रास्वपा र उनका समर्थकहरुले अदालतविरुद्ध नै खनिने गरेका छन् । लामिछाने कारागारमै रहँदा रास्वपाले अदालतप्रति अविश्वास देखाएर प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ । यो अभियानमा पूर्व प्रधानमन्त्रीदेखि केही अभिनेतासम्मले हस्ताक्षर गरेका छन् । जसमा पहिलो नाम पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको छ ।

वैकल्पिक शक्तिको वकालत गर्दै हिँडेका भट्टराईसँगै कलाकार विपिन कार्की, रमेश उप्रेती लगायतले पनि हस्ताक्षर गरेका छन् । रास्वपाको हस्ताक्षर अभियानमा राउटे समुदायदेखि क्रियापुत्रीसम्म पनि छुटेका छैनन् । रास्वपाले स्थापना दिवसका अवसरमा असार ७ गते काठमाडौं उपत्यकाबाट थालेको अभियान अहिले देशभरका वडा वडासम्म पुगेको छ ।

रास्वपाले चलाएको प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका नेपाल प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत सई कमल खड्कालाई आवश्यक छानविनका लागि प्रहरी प्रधान कार्यालयमा झिकाइएको हो ।

सई खड्कालाई अहिले आफ्नै हस्ताक्षर निकै भारी र महंगो सावित भएको छ । उनले जानेर गरे या अन्जानमै थाहा छैन, तर उनी नेपाल प्रहरीको बर्दीसहित हस्ताक्षर गरिरहेको भिडियो सार्वजनीक भइरहेको छ । त्यसो त उनी प्रहरी संगठनभित्र पहुँच र पावरको रवाफ देखाउने र सधैं आकर्षक पोष्ट खोजिरहने प्रवृत्तिका व्यक्ति भएको उनी निकट प्रहरीहरु बताउँछन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सई खड्कालाई विभागीय कारबाही हुनेछ । स्रोत भन्छ, ‘सईले प्रहरी बर्दीमै रविको समर्थन गर्दै रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएको प्रमाण नै छताछुल्ल भएको छ । राष्ट्रका लागि खटिनुपर्ने प्रहरी कुनै पनि पार्टीका कार्यक्रम अभियानमा कार्यकर्ता जस्तो भएर खटिन पाउँदैन । यसरी खटिने प्रहरीलाई हदैसम्मको कारबाही हुन्छ ।’

सई खड्काले नेपाल प्रहरीको बर्दीसहित नेपालगन्जमा चलाएको रास्वपाको हस्ताक्षर अभियानमै पुगेर हस्ताक्षर गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सधैं पहुँच र पावरका आधारमा आफूले चाहे अनुसारका पोष्टहरु छानीछानी पोष्टिङ्ग लिइरहेका सई खड्का यतिबेला प्रहरी प्रधान कार्यालयमा हाजिर भएर ‘हस्ताक्षर’को बयान दिइरहेका छन् ।

‘प्रहरी कर्मचारीहरु आफ्नो आचरणभन्दा बाहिर जानुहुँदैन । प्रहरी संगठनको छविलाई धुमिल बनाउने प्रहरी कर्मचारीहरुको गल्ती क्षम्य हुँदैन । सई खड्काले के–कति कारणले रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भए त्यसको छानविन भइरहेको छ, उनलाई विभागीय कारबाही हुन्छ, ढुक्क हुनुहोस्,’ प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले भने ।

आफ्ना सभापति लामिछानेको हकमा राजद्रोह र ज्यान मुद्दाजस्तो कठोर मुद्दा नलागेको र उनलाई राजनीतिक प्रतिशोधपूर्ण रूपमा अहिले मुद्दा चलाइएको भन्दै रास्वपाले प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । असार ७ गते सुरु भएको रास्वपाको हस्ताक्षर अभियान ९० दिन चल्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार