देशकै सबैभन्दा बढी गर्मी हुने बाँकेको नेपालगन्ज केहीदिन मात्रै बर्षा नभए अचाक्ली तातिन्छ । गर्मी समयमा चर्को घामसँगै चल्ने तातो हावाका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्छ । चिसोमा अत्यधिक चिसो, वर्षातमा अत्यधिक वर्षा र गर्मीमा अत्यधिक गर्मी हुनाले पनि नेपालगन्जलाई मौसमले निकै चुनौती दिने गरेको छ ।
गर्मी बढेपछि चर्को घामसँगै चलेको तातो हावाले यस क्षेत्रको जनजीवन झन् प्रभावित बन्ने गरेको छ । जतिसुकै गर्मी भए पनि काम नगरे बिहान बेलुका हातमुख जोर्न धौँधौ हुने वर्गका लागि गर्मीले धेरै नै दुख दिइरहेको हुन्छ । विशेषगरी दिउँसोको टन्टलापुर घाममा गर्मीको पर्वाह नगरी नियमित काम गर्नुपर्ने बाध्यता धेरै मजदुरलाई छ ।
तातो हावा र तापक्रमको वृद्धिले बढी गर्मी महसुस भइरहने नेपालगन्जमा गर्मी छल्नका लागि पहिलोपटक नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४, बसपार्कमा कुलिङ्ग सेन्टर (सितलन केन्द्र) सञ्चालनमा ल्याइएको छ । गर्मीमा प्रताडित हुने नागरिकहरुलाई सितलता दिन कुलिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको नेपालगन्ज वडा नं. ४ का अध्यक्ष गोपाल पुनले जानकारी दिए ।
‘नेपालगन्जमा गर्मी बढेपछि यस क्षेत्रका नागरिकको दिनचर्या नै प्रभावित हुन्छ । यसैलाई ध्यानमा राखेर विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा कुलिङ्ग सेन्टर सञ्चालनमा ल्याएका हौं । यसले गर्मीमा प्रताडित भएका नागरिकहरुलाई केही राहत दिने अपेक्षा गरेका छौं,’ अध्यक्ष पुनले भने । उनका अनुसार एक साथ ६० जनासम्म अट्ने कुलिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको हो ।
‘गर्मीले समस्या परिरहेका ६० जनासम्म व्यक्तिहरुले सितलता लिन सक्नुहुनेछ,’ अध्यक्ष पुनले भने । नेपालगन्ज उपामहानगरपालिकाको २७ लाख २० हजार र नेपाल रेडक्रस सोसाइटीको १२ लाख गरी कुल ३९ लाख २० हजार लागतमा सञ्चालनमा ल्याइएको कुलिङ्ग सेन्टरको नेपालगन्ज उपामहानगरपालिकाका प्रमूख प्रशान्त बिष्टले उद्घाटन गरेका हुन् ।
कुलिङ्ग सेन्टरमा २ टन क्षमताका चार वटा एसी, चार वटा पंखा, एउटा वाटर कुलर (खानेपानी) र विद्युत जडान गरिएको नेपालगन्ज–४ का अध्यक्ष पुन जानकारी दिए । उद्घाटन कार्यक्रममा नेपालगन्ज उपामहानगरपालिकाका प्रमूख प्रशान्त बिष्ट, नेपालगन्ज–४ का अध्यक्ष गोपाल पुन, नेपाल रेडक्रस सोसाइटीका रुपन ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।