२०८३ साउन २३ , शनिबार 8, August 2026, Saturday

वर्षायामसँगै सौराहामा घटे पर्यटक

पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका चितवन फरेस्ट रिसोर्टका सञ्चालक दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देखेनन् ।

वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उनको यो पहिलो अनुभव हो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताउँछन् ।

शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ । यो याममा विगतका वर्ष ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेका उनले बताए । पर्यटकको नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् ।

रिसोर्टका सञ्चालक भट्टराईले भने, ‘हाल २५ प्रतिशत कर्मचारी मात्र काममा छन् ।’ बर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतह मार्ग हुँदै आउन असहज हुँदा पर्यटक घटेका उनको अनुमान छ ।

विसं २०३३ देखि पर्यटन क्षेत्रमा लालेका गिरिधारी चौधरी आर्थिक मन्दीका कारण पर्यटक घटेका बताउँछन् । काठमाडौँ र बुटवलबाट आउने सडक असहज हुनु, हवाई यातायात पनि अनियमित हुँदा पर्यटक घटेका उनको ठम्म्याइ छ ।

सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ । सौराहामा करिब १५० होटल छन् । आठ हजार बढी शय्या भएका यी होटलमा छ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार