२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

बमको घाउ बोकेका गौरीशंकरको गुहार, ‘आलमका मान्छेबाट बचाइदिनुस्’

१८ वर्ष अगाडी रौतहटको राजपुर फरहदवामा बम विस्फोटमा घाइते भएका गौरीशंकर राम चमार (४३) यतिबेला काठमाडौँ आइपुगेका छन् । उनी भारतको बिहारस्थित सीतामढीका स्थानीय हुन् । २०६४ चैत २७ गते फरहदावामा बम विस्फोटसँगै इँट्टाभट्टामा जिउँदै मान्छे जलाइएको थियो । उनी भने भागेर बाँच्न सफल भएका थिए । तर गत जेठ १४ गते उक्त घटनामा दोषी पूर्वमन्त्री तथा कांग्रेस नेता अफ्ताब आलमले सफाइ पाएपछि उनी चुप बस्न सकेनन् । जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैदको फैसला सुनाउँदा थोरै राहत भएको थियो ।

तर उच्चको फैसलाले उनलाई शरीरको घाउले भन्दा बढी पोल्न थाल्यो । विस्फोटमा परेर बाँच्न सफल भए पनि आलमको मान्छेले उनलाई बाँच्न दिएका थिएनन् । सीमा नाघेर नेपाल प्रवेश नगर्नु भन्ने धम्की दिइरहन्थे । आमाबुवालाई ‘तेरो छोरा मारिदिन्छौ’ भनेर बारम्बार धम्की दिइरहन्थे । यी सबै सहेर बसेका गौरी यति बेला अफ्ताब निर्दोष साबित भएर खुलेआम हिँड्दा मृतक र पीडित परिवारको भयले आफूलाई चुप लागेर बस्न नदिएको भन्दै काठमाडौँ पुगेका हुन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै गौरीले मिति नै तोकेर आलमको भाइले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

हरेक प्रमाणले आलमलाई दोषी प्रमाण गरेको उनले बताए । उनले भने, ‘पैसा, पद र शक्तिको आडमा अपराधलाई राजनीतिकरण गरेर गरिबलाई बाँच्न नदिने काम भएको छ । उच्च अदालत वीरगञ्जको फैसलाले पीडितलाई अझ पीडामा पार्ने काम गरेको छ । म छिमेकी देशको भए पनि नेपालीहरू मेरा आफन्त हुन् । म उनीहरूमाथि अन्याय भएको हेरेर बस्न सकिन । आफैँ मात्र पीडित भएको भए चुप बस्थेँ । मार्ने धम्की सुनेर पनि चुप बसेको हो । जन्मकैद भएको मान्छे एकाएक कसरी निर्दोष साबित हुन्छ ? घटना नै भएको थिएन भन्ने आधार के हो ?’ उनी अदालतलाई प्रश्न गर्छन् । आलमलाई कडाभन्दा कडा सजाय हुनुपर्ने उनको भनाइ छ ।

नरसंहारमा गौरीशंकर कसरी बाँचे ?

इँट्टा मास्टरका रुपमा चिनिने उनी नेपाल र भारत दुवैतिर लोकप्रिय थिए । त्यतिबेला आलमको भाइ महताबले नै उनलाई विहारबाट ल्याएका थिए । चैतको अन्तिम साता ज्याला बुझ्ने काम हुन्थ्यो । उक्त दिन पनि महताबले ज्याला लिन बोलाएका थिए । ज्याला लिन भनेर गएका गौरी घरको ढोकामा पुग्दै विस्फोट भयो । साँझ ६ः३० मा शेख इद्रिशको गोठ नजिकै बम विस्फोट भएको थियो । शरीरमा बम लागेको मलाई यादै भएन । म त्यहाँबाट भागेँ र घर पछाडि इँट्टा भिजाउनको लागि राखिएको पानीमा डुबेँ । किनभने शरीर भतभति पोलेको थियो ।

त्यही जोसमा फेरि उठेर भागेँ । कहाँ भागे याद भएन तर गाउँका मान्छेहरूले भेटेछन् । उनलाई अस्पताल पुर्याए । होस् खुल्दा उनी सीतामढीस्थित सदर अस्पतालको बेडमा थिए । आमाबुवालाई सोधिरहेको थिए, ‘म कहाँ हो ? यहाँ किन ल्याएको ?’ उहाँहरूले तिमीलाई अस्पताल ल्याएका छौ, चिन्ता नगर भन्नुभयो । उनको त्यहाँ तीन महिना उपचार भयो । पहिले इँट्टा बनाउने काम गर्थे । हाल गौरी घर बनाउने काम गर्छन् । कामको सिलसिलामा कहिले भारत र कहिले नेपाल गर्थे । आलमको मान्छेले नेपाल नआउन धम्क्याएपछि पछिल्लो समय उनी नेपाल आएका थिएनन् । उनको परिवारमा आमाबुवा, श्रीमती र तीन छोरी छन् ।

घाउले गर्दा उनले घाममा काम गर्न र भारी उचाल्न सक्दैनन् । उनको सुरक्षाको सवालमा जिल्ला अदालत रौतहटले २०७६ कात्र्तिक २९ गतेको आदेशमा पीडितहरूको संरक्षण गर्नु भनेर जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ । अधिवक्ता पुष्पराज पौडेल आलमको फैसला बदर गर्न एक हप्ताभित्र पुनरावेदन दर्ता गर्ने तयारी रहेको बताउँछन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो घटना भएको हो भन्ने प्रमाण यही तपाइँहरु सामु (गौरीशंकर) हुनुहुन्छ । उहाँले प्रहरीकोमा बयानका क्रममा घटनाको उल्लेख गर्नुभएको छ । टिचिङ अस्पतालमा उपचार भएको हो । अस्पतालको फरेन्सिक रिपोर्टले उहाँ बम विस्फोट परेको भनेर देखाएको छ ।’

‘अर्को कुरा प्रत्यक्षदर्शीले आलमको निर्देशनमा टयाक्टरमा हालेर इँट्टा भट्टातिर लगिँदै थियो भनेर प्रहरीमा बयान दिएका छन् । उक्त बयान अदालतमा पनि दिइएको छ । घटनाका चस्मदित गवाह पनि छन्, उनले थपे, ‘घटनामा परेका पीडित र परिवार छन् । अर्को महत्त्वपूर्ण कुरा त्यो दिन घटना घटेको छ भनेर राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समेत छ । नेपाल वार एसोसिएसन र इन्सेक प्रतिवेदनमा पनि घटना भएकै देखिएको छ ।’ हरेक निकायमा घटना घटेको बम विस्फोट भएको र त्यहाँ घाइते भएका छन् । घाइतेहरूलाई सुई लगाएर बेहोस बनाएर इँट्टाभट्टामा लगेर ज्यूँदै जलाइएको कुरा प्रतिवेदनले उल्लेख गरेको छ । तर पनि पूर्णपाठमा प्रतिवादीहरूलाई सफाइ दिँदा घटना नै नघटेको, बम विस्फोट नै नभएको भन्ने देखिएको छ ।

दोस्रो आधार घटना नै नभएको हुँदा प्रतिवादीलाई सजाय गर्नुपर्ने देखिन्न भनिएको छ । त्यस्तो अवस्थामा पनि उच्च अदालतले घटना घटेको छैन भन्ने जुन आधार लिएको छ । त्यो आधार ठिक छैन, त्यो उल्टिनुपर्ने अधिवक्ताको भनाइ छ । ‘गौरीशंकर घटनाको साक्षी र ज्यान मार्ने मुद्दा हो । उनको क्षतिपूर्तिको लागि सर्वोच्च जाँदैछौ । अर्को नानसिङ राजपुतको छोराको मृत्यु भएको हो । उहाँको कर्तव्य ज्यान मुद्दा हो । यही मुद्दामा पहिले जिल्ला सरकारी वकिल कार्यालय, प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र नेपाल सरकार लागेर ढाकछोप गर्ने मात्रै होइन, मुद्दै नचलाउने गरी फैसला भएको छ । जुन गलत छ ।’ ‘हामीले उक्त फैसलाविरुद्ध सर्वोच्चमा बदर गरी पुनः अनुसन्धान गर्नुपर्छ भन्दा पनि गरेनन् । २०७२ जेठ १८ निवेदन दिएकोमा २०७६ असार ६ गते अदालतबाट फेरि आदेश भएर पक्राउ परेका थिए । यसरी पनि बुझ्न सकिन्छ नेपालको न्यायालयको अवस्था,’ पौडेलले भने ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार