२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

औषधि किन्न हिँडेका जीवन ११ दिनदेखि बेपत्ता

झापाको शिवसताक्षी–९ का ५९ वर्षीय जीवन न्यौपाने ११ दिनदेखि सम्पर्कविहीन भएका छन् । असार १३ गते ‘औषधि किन्न जान्छु’ भन्दै घरबाट निस्किएका उनी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

घरबाट निस्किँदा उनले आफ्नो मोबाइल फोन र पर्ससमेत घरमै छाडेकाले यो घटना पूर्व योजना अनुसार भएको परिवारको आशंका छ । सीसीटीभी फुटेजमा उनी दुधे बजारबाट गाडी चढेर दमक हुँदै उदयपुरको कटारीतर्फ लागेको देखिएको छ । तर, कटारीपछि उनको अवस्था अज्ञात छ ।

पारिवारिक स्रोतका अनुसार, न्यौपानेले दुधे बजारको एक सुन पसलमा जम्मा गरेको करिब ३५ लाख रुपैयाँ डुब्ने अवस्थामा पुगेपछि उनी गहिरो तनावमा थिए । सोही तनावका कारण उनले घर छाडेको हुनसक्ने अनुमान गरिएको छ ।

परिवारले उनको खोजीका लागि प्रहरीमा निवेदन दिनुका साथै सर्वसाधारणलाई सहयोग गरिदिन अपिल गरेको छ । ‘बुबा जहाँ भए पनि सम्पर्कमा आइदिनुहोस्, हामी अत्यन्तै चिन्तित छौं,’ उनकी बुहारी सबुले आग्रह गरिन् । परिवारले उनलाई कतै देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार