२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

युनेस्कोको ढोका ढक्ढक्याउँदै तिलौराकोट

२९ वर्षको उमेरमा राजमहल त्यागी ज्ञानको खोजीमा निस्कँदा सिद्धार्थ गौतमले जुन द्वारबाट बिदाइ लिए, त्यो द्वार आज पनि उस्तै मौन छ, कपिलवस्तुको तिलौराकोटमा । यहीँ उनले बाल्यकाल बिताए, यहीँ राजकुमारको जीवन देखे र यहींबाट भौतिक विलास छाडेर बौद्ध दर्शनको उज्यालो बाटो समाते । तिलौराकोट, जहाँ बुद्धको पदचाप छन्, अब विश्वसम्पदाको ढोका ढक्ढक्याउने संघारमा छ ।

यही ऐतिहासिक यात्रालाई निर्णायक बनाउँदै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सोमबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् । युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकमा उनी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने औपचारिक प्रस्ताव प्रस्तुत गर्न गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पाण्डेलाई मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरे । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्ने दिशामा कोसेढुङ्गा सावित हुनेछ ।

इतिहासका तह खोल्ने उत्खनन्

तिलौराकोट कुनै मिथकको कथा होइन । यो नेपालको माटोमै समाहित २५ सय वर्षभन्दा पुरानो इतिहासको जीवित दस्तावेज हो । २०१४ सालदेखि जारी उत्खनन् कार्यले तिलौराकोटलाई प्राचीन सभ्यताको केन्द्र, संगठित गणराज्य र औद्योगिक शहरको रूपमा स्थापित गरेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, दुर्हाम विश्वविद्यालय (बेलायत) र थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा गरिएको अनुसन्धानले तिलौराकोट बुद्धपूर्व युगको महान सभ्यता रहेको पुष्टि गरिसकेको छ ।

ईपू आठौं शताब्दीमै यहाँ योजनाबद्ध शहरीकरण भएको तथ्य भेटिएको छ। चारैतर्फ किल्ला र पर्खालले घेरिएको यस नगरीमा दरबार, स्तूप, औद्योगिक क्षेत्र, विहार, पोखरी, इनार, नाली, सडक–सबै संरचना क्रमशः भेटिएका छन् । पर्खालको माटोमा सिलिएको समय, धातुका अंश, पञ्चमार्क मुद्राहरू र चाँदीका अवशेषहरूले वैज्ञानिक सत्यता थपेका छन् । पुरातत्वविद्हरु भन्छन्, ‘उत्खनन जुवा हो, तर तिलौराकोटको खालमा हामीले बाजी जित्यौं ।’ पाँचौं शताब्दीमा आएका चिनियाँ यात्रु फाइयान र सातौं शताब्दीका ह्वेनसाङले वर्णन गरेका संरचनाहरू पनि उत्खननबाट भेटिनुले तिलौराकोटको ऐतिहासिकता निर्विवाद बनाएको छ ।

बुद्धको बाल्यकालदेखि गणराज्य संस्कृतिसम्म

तिलौराकोट केवल धार्मिक आस्थाको थलो होइन, यो एक ऐतिहासिक गणराज्य थियो, जहाँ शुद्धोधनजस्ता राजाहरूले शासन गर्थे र सिद्धार्थले न्याय, करुणा र दार्शनिकता सँगै हुर्किएका थिए । यसै स्थलबाट उनले सम्वेदनशील राजकुमारबाट विश्वबोधी बन्ने साहसिक यात्रा सुरु गरेका थिए । यही कारण तिलौराकोट नेपालको संघीयता र समावेशी शासन व्यवस्थाको प्राचीन अभ्यासको प्रतीकस्थल पनि हो ।

विश्वसम्पदाका लागि निर्णायक मोड

हाल युनेस्कोको वल्र्ड हेरिटेज कमिटीमा २१ राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरियाजस्ता देशहरूको प्रतिनिधित्व छ । कमिटीमा बहुमतका आधारमा निर्णय हुने हुँदा नेपालको पक्षमा कूटनीतिक लबिङ निर्णायक बन्नेछ । तिलौराकोट सूचीकृत भएमा लुम्बिनी क्षेत्रको समग्र पर्यटन विकास र अन्तर्राष्ट्रिय मान्यतामा गुणात्मक फड्को मारिनेछ । नेपाल सरकारले तिलौराकोटको पुरातात्त्विक क्षेत्रलाई आफ्नो स्वामित्वमा लिएर त्यसको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको छ ।

जग्गा अधिग्रहण, पैदलमार्ग निर्माण, बुद्धमार्ग विस्तार र कपिलवस्तु संग्रहालयको स्तरोन्नतिको काम तिब्र रुपमा अघि बढिरहेको छ । तौलिहवासम्म डबल लेन सडक, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धमूलक स्थलहरूलाई जोड्ने ३६ किमि बुद्धमार्गको निर्माण र संग्रहालय पूर्वाधार विकासले तिलौराकोटको पर्यटन सम्भावना प्रष्ट पारेको छ । लुम्बिनी गुरुयोजना अन्तर्गत निग्लीहवा, गोटिहवा, कुदान, सिसहनिया, सगरहवा लगायतका अन्य स्थलहरू पनि जोडिन थालेपछि ‘बुद्ध सर्किट’को सम्भावना झनै सशक्त बन्दै गएको छ ।

प्रदेश सरकार, लुम्बिनी विकास कोष र स्थानीय सरकारको सक्रियता तथा बेलायतको दुर्हाम विश्वविद्यालयको अनुसन्धानले तिलौराकोटलाई अब विश्वसम्पदामा प्रतिष्ठित गराउने वातावरण तयार गरेको छ । तिलौराकोटको इतिहास केवल बुद्धसँग सम्बन्धित छैन–यो नेपालकै सांस्कृतिक अस्मिता, शासकीय विरासत, मानव सभ्यता र धार्मिक सहिष्णुताको जीवन्त प्रमाण हो । पेरिसको बैठकबाट यदि तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुन्छ भने यो केवल कपिलवस्तुको मात्र गर्व हुने छैन–यो सम्पूर्ण नेपाली पहिचान र सशक्त इतिहासको विश्वस्तरीय सम्मान हुनेछ । तिलौराकोट–जहाँबाट सुरु भएको थियो ज्ञानको यात्रा, अब संसारकै सांस्कृतिक नक्सामा छाप छोड्ने संघारमा छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार