चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासी ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ । बिहान सवा ३ बजेतिर लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएसँगै आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
साथै रसुवा भन्सारमा पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ । नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा बाढीले व्यापक क्षति गरेको छ । त्यहाँ रहेका करिब १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

यस्तै कतिपय मानिसहरु समेत बगाएको आशंका गरिए पनि अहिलेसम्म आधिकारिक पुष्टि भने हुन बाँकी रहेको उनको भनाइ छ । बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार त्यहाँ थुप्रै कन्टेनर पुरिएका छन् ।
क्षतिको थप विवरण आउन बाँकी छ । ‘सवारीसाधन धेरै बगाएको सूचना आएको छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीले भने, ‘कन्टेनर पुरिएको खबर आएको छ । हामीले प्रहरी परिचालन गरेका छौँ ।’ नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिएको छ ।