२०८३ साउन १४ , बिहीबार 30, July 2026, Thursday
पुस्तक चर्चा

ऐतिहासिक र जीवन्त उपन्यास ‘भृकुटीतारा’

राजा अंशु बर्मालाई छोरी भृकुटीलाई तिब्बतमा विवाह गरिदिने वा नदिने निकै धर्म संकट परेको थियो । किनकी त्यतिबेलासम्म नेपालको वैवाहिक सम्बन्ध दक्षिणतिर नै हुने गर्थ्यो ।

कल्पना खरेलको भृकुटीतारा ऐतिहासिक उपन्यास हो । हाम्रो देशको राष्ट्रिय विभूति पनि हुन् भृकुटी । उनले चीन र तिब्बतमा बुद्ध धर्मको प्रचारप्रसार गरेर माइती देश नेपालको गौरव वृद्धि गरेकीले राष्ट्रिय विभूति भएकी हुन् । त्यसैले भृकुटीप्रति नेपाली जनमानसको श्रद्धा पनि हृदयदेखि नै अगाध छ । बुद्ध धर्मलाई विश्वभरी फैलाउनमा उनको योगदान वन्दनीय नै छ ।

यस उपन्यासमा भृकुटीको विवाहमा तिब्बत नेपाल यात्राको विवेचना सरल, सुन्दर र ज्ञानवर्धक ढंगले लिच्छविकालको जीवन पद्धती, सभ्यता र इतिहासलाई औपन्यासिकीकरण गरेका छन् । उपन्यासमा लिच्छिवीकालिन धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक अवस्थालाई पनि त्यत्तिकै सुस्पष्ट वर्णन गरिएको छ ।

सातौं शताब्दीताकाको नेपाल उपत्यकाको राज्य व्यवस्था पनि यो उपन्यासमार्फत बुझ्न सकिन्छ । राजा अंशु बर्माकी छोरी भृकुटीको विवाहको वर्णन, विवाहपूर्व भोटका राजा श्रोङचङ गम्पो के कसरी मगनीदेखि विवाहसम्म प्रस्तुत भए त्यसबारे जान्न चाहनेहरूका लागि उपन्यास धेरै जानकारीमूलक छ । भृकुटीसँग विवाह हुँदा भोटका राजा आफू अनुपस्थित थिए ।

नेपालसम्म पुग्न धेरै समय महिनौ लाग्ने भएकोले राजाको उपस्थिति सामरिक दृष्टिकोणले गम्भीर ठहर्याएर श्रोङचङ गम्पोले मन्त्रीहरू सहितको जन्ती पठाएका भन्ने उपन्यासमा उल्लेख छ । त्यस समयमा नेपाल भोटभन्दा सभ्य, विकसित र समृद्ध भएको देखिन्छ । नेपालको धार्मिक सांस्कृतिक, सामाजिक र आर्थिक अवस्थाले यहाँका जनता सुखी, खुशी र शान्त भएको पनि देखाउँछ ।

छिमेकी देश भोटले नेपालमा त्यस बखतको धर्म बौद्धलाई भृकुटीमार्फत भोटमा प्रचारप्रसार गर्ने कुरा राजा अंशु बर्मालाई मन्त्रीमार्फत भन्न लगाएर धर्म, दर्शन, आध्यात्मको अथाह ज्ञानले भरिपूर्ण लिच्छवी राजकुमारी भृकुटीलाई विवाहका गर्न चाहेको पत्रहरूद्वरा भन्दछन् । राजा अंशु बर्मालाई छोरी भृकुटीलाई तिब्बतमा विवाह गरिदिने वा नदिने निकै धर्म संकट परेको थियो । किनकी त्यतिबेलासम्म नेपालको वैवाहिक सम्बन्ध दक्षिणतिर नै हुने गथ्र्यो ।

तर त्यो विवाह प्रस्ताव अस्वीकार गर्दा दुई देशका बीच युद्ध हुने र त्यसको क्षती नेपालले बेहोर्ने त्यसपछि छोरी भृकुटीलाई अपहरण गरेर लैजाने आँकलन गरेर अंशुबर्मा छोरीको विवाह तिब्बतका राजा श्रोङ्चोङ गम्पोसँग गरिदिन सहमत भएको उपन्यासमा उल्लेख छ । त्यतिबेला पनि छोरीको विवाहको लागि छोरीसँग अनुमति लिएका छन् अंशुबर्माले ।

भृकुटीको विवाह तिब्बतमा भएपछि राजा अंशुबर्मासँग चिढिएका भारदाररूले अंशुवर्माको मृत्यूपछी उनका छोरालाई राजा हुन बञ्चित गर्छन्, पछि तिब्बतका राजा श्रोङचोङ गम्पोले आफ्ना सालालाई युद्ध गरेर राजा बनाएदेखि तत्कालिन नेपाल र तिब्बतको जनजीवनको रोचक वर्णन तत्कालिन नेपाल, भृकुटीको विवाह, राज्य व्यवस्थाबारे जिज्ञाषुलाई सूचित गरेको छ । औपन्यासिक आनन्द र ऐतिहासिक ज्ञान यो उपन्यासको विशिष्टता हो ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार