२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

तीन लाख ८० हजार टन मल आयात

चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असार तेस्रो सातासम्म तीन लाख ८० हजार ४९४ मेट्रिक टन मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरे पनि हालसम्म सो परिमाण बराबर मल आयात भएको हो ।

यस अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले तीन लाख १० हजार ११० मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ७० हजार ३८३ मेट्रिक टन मल आयात गरेका छन् । दुवै कम्पनीसँग हाल ९४ हजार ७१७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६७ हजार ५८३ मेट्रिक टन युरिया, १९ हजार २१४ मेट्रिक टन डिएपी र सात हजार ९१९ मेट्रिक टन पोटास मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

तीन हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट ढुवानी भई कोलकाता आइसकेकाले नेपाल आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप २२ हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट कोलकाता आउने क्रममा रहेको र ३० हजार मेट्रिक टन डिएपी कोलकाता आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

धान सिजनका लागि (जेठ–असोज) सम्म एक लाख ६० हजार युरिया, ९० हजार डिएपी, १० हजार मेट्रिक टन पोटास गरेर साढे दुई लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । बर्सेनि बालीमा धान, तरकारी र उखुमा रासायनिक मलको प्रयोग गरिन्छ । चालु आवमा रासायनिक मल खरिद गर्नका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

मलका लागि बर्सेनि ठुलो रकम छुट्याए पनि माग अनुसार मल आयात नहुँदा धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको छ । धानको सिजन भए पनि मलको आपूर्ति कम हुँदा विभिन्न जिल्लाका किसानले मल पाउन नसकेको गुनासो गरेका छन् । छिमेकी मुलुक भारतमा रासायनिक मलको अभाव भई सीमानाकाबाट मल आउन छोडेपछि किसानले मलको अभाव खेप्नु परेको छ । यसअघि सीमानाका नजिक रहेका किसानले भारतबाट मल ल्याउने गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार