२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

राप्तीसोनारीका एक हजार ३३२ जनाले पाउँदै लालपुर्जा

भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ । आयोगले जिल्लाकै राप्तीसोनारी गाउँपालिका–४ का भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको छ ।

आयोग बाँकेका अध्यक्ष घननाथ खनालले राप्तीसोनारी–४ का ६१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा एक हजार २७१ जना अव्यवस्थित बसोबासीहरु गरी एक हजार ३३२ जनालाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको बताए । उनले लालपुर्जा प्राप्त गर्नका लागि राजस्व जम्मा गर्न सोमबार सूचना जारी गरिएको जानकारी दिए ।

‘राप्तीसोनारी–४ का एक हजार ३३२ जना नागरिकलाई पनि राजस्व जम्मा गरेर आउन सूचना जारी भएको छ,’ उनले भने, ‘यसपछि कोहलपुर–१ का थप एक हजार एक जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनेछौं । यो महिनाभित्र जिल्लाका करिब तीन हजार ७०० जना नागरिकलाई राजस्व जम्मा गर्नका लागि सूचना प्रकाशित गर्ने योजना बनाएका छौँ ।’

गत वैशाख २० गते कोहलपुर नगरपालिका–१ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले त्यसपछि जेठ ३१ गते वडा नं.१ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ । आयोगले गत शुक्रबार कोहलपुर–१ कै ६३४ जनालाई जग्गा दर्ताका लागि आउन जानकारी गराएको छ ।

आयोगले एक हप्ताभित्र तोकिएको राजस्व बैंकमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको हो । अध्यक्ष खनालका अनुसार कोहलपुर–१ का ६६८ जना अव्यवस्थित बसोबासीका लागि असार २६ गते लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । ‘कोहलपुर १ का ६६८ जना अव्यवस्थित बसोबासीलाई असार २६ गते लालपुर्जा वितरण गर्दैछौँ,’ उनले भने ।

बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको संख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको संख्या ४३ हजार २२६ रहेको अध्यक्ष खनालले जानकारी दिए ।

बाँकेका आठ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८ वटा वटा आवेदन फारम दर्ता भएका छन् ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभैसकेको आयोगले जनाएको छ । लालपुर्जा वितरण लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यबाट गरिने अध्यक्ष खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार