२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

इन्जिन ‘कट अफ’मा राख्दा एयर इन्डियाको विमान दुर्घटना !

हालै भएको एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्टले केही गम्भीर र स्तब्ध पार्ने तथ्यहरू बाहिर ल्याएको छ, जसले २६० जनाको ज्यान गएको उक्त त्रासदीपूर्ण घटना मानवीय त्रुटि वा जानाजानी गरिएको गल्तीका कारण भएको हुनसक्ने तर्फ संकेत गरेको छ ।

अनुसन्धान टोलीले सार्वजनिक गरेको १५ पृष्ठ लामो प्रारम्भिक रिपोर्टमा विमानको ‘ककपिट भ्वाइस रेकर्डर’ (सिभिआर) मा रेकर्ड भएको एक संवादको टुक्राले दुर्घटनाको रहस्य थप गहिरो बनाएको छ । रिपोर्ट अनुसार, दुर्घटनाको समयमा विमान को–पाइलटले उडाइरहेका थिए भने मूल क्याप्टेनले निगरानीको भूमिका निर्वाह गरिरहेका थिए ।

विमानले उडानका लागि पूर्ण गति लिइसकेको अवस्थामा एक सेकेन्डको अन्तरालमा इन्जिन–१ र इन्जिन–२ दुवैको ‘फ्युल कन्ट्रोल स्वीच’ ‘रन’ पोजिसनबाट ‘कट अफ’ पोजिसनमा सारिएको थियो । यो घटनालगत्तै ककपिटमा एक पाइलटको आवाज रेकर्ड भएको छ, जसमा भनिएको छ, ‘किन उसले कट अफ गरेको ?’

यो संवादले ककपिटभित्रकै कुनै सदस्यले इन्जिनमा इन्धन प्रवाह रोकेको र अर्को पाइलट त्यसबाट अनभिज्ञ वा आश्चर्यचकित भएको देखाउँछ । यसले ‘उसले’ भनेर कसलाई संकेत गरिएको हो भन्ने प्रश्नलाई थप रहस्यमय बनाएको छ, के क्याप्टेनले को–पाइलटको कार्यप्रति प्रश्न उठाएका थिए, वा त्यहाँ अन्य कुनै परिस्थिति थियो ?

अन्तिम क्षणको डरलाग्दो शृङ्खला

रिपोर्टले विमानको अन्तिम क्षणको डरलाग्दो चित्र प्रस्तुत गरेको छ,

१. दुवै इन्जिनको स्विच ‘कट अफ’ मा सारिएपछि पाइलटको प्रश्नवाचक आवाज रेकर्ड भयो ।
२. त्यसको केवल चार सेकेन्डपछि दुवै स्विच पुनः ‘रन’ पोजिसनमा फर्काइयो । तर त्यति बेलासम्म विमानले महत्त्वपूर्ण शक्ति र उचाइ गुमाइसकेको हुनसक्छ ।
३. केही मिनेटपछि एक पाइलटले आपत्कालीन सन्देश दिँदै ‘मे डे ! मे डे ! मे डे !’ भनेको सुनियो ।
४. त्यसको लगत्तै विमान विस्फोट भएको ठूलो आवाज रेकर्ड भएको रिपोर्टमा उल्लेख छ ।

एयर इन्डियाको प्रतिक्रिया

प्रारम्भिक रिपोर्ट सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कम्पनीले अनुसन्धानमा सबै सरोकारवाला निकायसँग पूर्ण समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

‘हामी यस दुःखद घडीमा मृतकका परिवारजनको साथमा छौँ र सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानमा हरसम्भव सहयोग गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ । इन्जिन स्वीचहरू जानाजानी ‘कट अफ’ पोजिसनमा किन लगियो र त्यसपछिको परिस्थिति के भयो भन्ने नै अब अनुसन्धानको मूल विषय बनेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार