२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday
विशेष खोज रिपोर्ट

‘केटीले चाहे भने एकै सासमा फसाउँछन्, लोग्नेमान्छेको जिन्दगी बर्बाद बनाइदिन्छन् !’

सायद मुर्दा हुनु भनेको पनि यस्तै त होला । दुई तीन घन्टाको यो बिचमा म के थिए के भए ? यो के हो ? एक्कासि यति ठुलो भुइचालो कसरी आयो जिन्दगीमा ।

निलो रंगको सुजुकी कार मेरो अगाडि आएर अचानक ब्रेक लाग्छ। ३४/३५ बर्षकी मस्त यौवना नारी कारबाट ओर्लिन्छिन् र नजिकै रहेको वाइन दोकानतिर जान्छिन्। यो कार म उभिएकै स्थानमा किन पार्क गरिन् तिनले, एकछिन सोचमग्न भएँ।

कतै मलाई चिनेको होलिन् कि, या कोहि मेरो आफन्त हुन् कि? कतै हामी क्लासमेड पो हौकि ? मनभित्र ह्वार ह्वार्ती तर्कना ओइरिनु थाल्यो।

माइक्रो बस स्टेशनबाट छुट्ने समय अझै भएको थिएन। त्यो बस यहाँ आइपुग्दा करिब ६ बज्छ होला भन्ने मेरो अनुमान। अफिस छुटेपछि माइक्रोमा जानेको भिड र खचाखच झन थामिनसक्नु हुन्छ।

हिँडेर जाउ चाबहिल सम्म त्यति टाढा। उपाय थिएन जसरी नि जानू छ घर। मेरै छेउमा आएर त्यो कार रोक्नु पर्ने कारण चै के थियो कुन्नी ? तिनी वाइन पसलबाट आएपछि सोधपुछ गर्छु भन्ने मनशायले म पनि जहाँ हो त्यही नै टक्क उभिरहे ?

म मुर्तिवत त्यही कारको छेउमा उभिरहेको थिए, उनी परैबाट मलाई हेरेर मुस्कुराएको होकि जस्तो प्रतीत हुन थाल्यो। कारभित्र एउटा लेडिज ब्याग थियो। स्त्रीका भित्री पोशाक थिए। श्रीङ्गारका सामान पनि थिए। कारको ढोका पनि लक भएको थिएन। कारको सीसा पुरै माथिसम्म लागेको पनि थिएन।

अनि त्यहीबाट एक प्रकारको मीठो अत्तरको बासना आइरहेको थियो। कारको क्याबिन भित्रको सजावट हेर्दा ठुलै घरानियाकी छोरी जस्तो लाग्यो। केहिबेरमै ट्राफिक प्रहरी आयो र ह्विल लक गर्यो। म कारै छेउमै भएर पनि केही सोधपुछ गरेन त्यो ट्राफिकले।

ह्विल लक गरेर उ सरासर जाँदै थियो। वाइन सपबाट ती केटी दौडेर आइन्। हस्याङ-फस्याङ गर्दै कारतिर आएको ट्राफिक प्रहरीले देख्यो र उ पनि हातमा बिल प्याड लिएर कार नजीक उभियो। उनीहरू दुवैको जम्काभेट भयो। हेर्दाहेर्दै ट्राफिकले बिल काट्न लाग्यो। तिनी झोक्किइन बेस्सरी।

ट्राफिकले लाइसेन्स माग्यो अरु केही बोलेन र मात्रै एक हजारको बिल तेर्स्यायो।

“अगाडि चालक हुदाहुदै तपाईंले मेरो कारमा किन ह्विल लक गरेको ?” भनेर ट्राफिकलाई हकारिन्।
ट्राफिक अक्क पर्यो र सोध्यो “को हो चालक ?”

ती केटीले मलाई देखाइन्। म पनि अक्क न बक्क परे। “तपाईं चालक हो ?” प्रहरीले मलाई सोध्यो। मैले केही जवाफ दिन सकिन। केटीले पहिल्यै मलाई आँखा झिम्क्याई सकेकी थिइन्। मैले कुरा बुझिसकेको थिए। ट्राफिकले लाइसेन्स फिर्ता गर्न मानेन। बिल काटिसकेपछी नो स्क्युज भन्यो।

बेलुकी ६ बजे तपाईं र चालक बग्गिखाना आउनु भन्दै उ निस्कियो।

उफ…. के आइलाग्यो यस्तो ? एउटा तरिका हुन्छ नि के भाउतो हो यो? गाडी चलाउन नआए पनि म चालक बने। साझको ५:३० बजिसकेको थियो। मेरो अगाडि ल्याएर गाडी पार्क गर्दैमा म कसरी तपाईंको चालक बने? उनको आँखामा आँखा जुधाएर मैले सिधै प्रश्न राखे। उनी नाजवाफ भइन्।

उत्तर नदिइकन धरै भएन उन्लाई र बोलिन् “गाडीको ह्विल लक गरेको देखेर अलिक डर लाग्यो अनि तपाईंको भर लाग्यो र भने चालक अगाडि हुँदा-हुँदै पनि पार्क गरेको गाडीमा ह्विल लक गर्नी हो त ?” भनेर। “तपाईंको चित्त दुखेको भए माफी चाहे।”

उनको प्रश्नको जवाफ केही फर्काइन्। गाडीमा बसु भनिन्। म पछाडी सिटमा बस्न खोज्दा उनले अगाडि बसु भनिन्। अगाडि बसे। कार सिह दरबार अगाडिको बग्गीखानामा हुइकियो। बाटोमा हामी बिच परिचय भयो।

गाडी भद्रकालीलाई दायाँ पारेर जानुपर्ने हो तर गाडी त्रीपुरेश्वर हुँदै जाने भनेर उनले निधो गरिन् र भद्रकाली मन्दिरलाई बायाँ बनाइन्।

दुई बोतल वाइन मेरो सिटको अगाडि खुट्टा राख्ने ठाउँमा थियो।

मलाई एक प्रकारले रिस उठिरहेको थियो। घर जान भनेर हिंडेको मान्छे यो के समस्यामा फसे भनेर। सामान्य परिचय भयो। मेरो नाम सोधिन्। दिपेश क्षेत्री भने। उनको नाम अनुजा चन्द रहेछ। म नेपाल ल क्याम्पसमा प्रपोजल बुझाएर आएको थिए।

उनको भनाइ अनुसार उनी पनि एलएलबि तेस्रो बर्षकै विद्यार्थी रहिछन्। उनी पनि आज प्रपोजल बुझाउने अन्तिम दिन भनेर बुझाएर आएकी रहिछन्। यो संयोग अचम्मको पर्यो। गाडी त्रीपुरेश्वरको जाममा फस्यो। अनुजा चन्द ठकुरी। घर बैतडी। उनको परिचय।

मेरो परिचय पाएपछि उनी असाध्य खुसी भइन्। उनी खान्दानी घरानीया परिवारकी छोरी। मेरो त खासै परिचय दिन लायकको केही कुरै थिएन। उनी एउटा एनजिओ चलाउदिई रहिछन्- “ग्रामीण समुदाय उथ्थान तथा महिला उद्धमशील परियोजना”।

आफू त यो उमेरसम्म बेरोजगारी परियो। आजसम्मको पढाई खर्च बाउआमाले धानेका छन्। यति भने…

माइतीघर पुगेपछि उन्ले एउटा रहस्य खोलिन्।

दोस्रो बर्षको परिक्षामा उनी र म एकै हलमा बसेर परिक्षा दिएको रे।

हरेक दिन उनले मेरो सबै एक्टिभीटि नियालेकी रहेछिन्। एक दिन एकै बेन्चमा बसेर परिक्षा दिएको रे। मैले केही थाहा नपाएको आफैलाई अचम्म लाग्यो। अन्तिम दिनको परिक्षा बिषय “लैङ्गिक र समावेशी न्याय” थियो। परिक्षा हलबाट बाहिर निस्किएपछी मलाई बोलाउ जस्तो पनि लागेको थियो रे ! तर साहस गर्न सकिन” उनले भनिन्।

एकै बेन्चमा बसेर पनि तपाईंले केही वास्ता गर्नु भएन अनि मैले सोधेको कुरा पनि भन्नू भएन। तपाईं घोप्टाे परेर लेखेको लेख्यै हुनु भो। मलाई त तपाईं कस्तो निस्ठुरि जस्तो लाग्यो। रिसले आँखा देखेको थिइन्। यसरी कुरा नसक्किदै गाडी बग्गिखाना भित्र गएर रोकियो।

पार्किङमा राखेर भित्र मात्रै के छिरेका थियौ। त्यहाँ एकजना असई साहेब उभिरहनु भएको रहेछ।

अफिस भित्र गयौ। पुलिस इन्स्पेक्टरले मेरो चालक अनुमति पत्र माग्नु भो। म त चालक नै होइन अनि कसरी लाइसेन्स हुनु मसँग। एकछिन अलमल परे। “बिना लाइसेन्स गाडी चलाएको अपराधमा उहाँलाई कष्टडिमा राख्नु” डिएसपिको ठाडाे आदेशमा म थुनिए।

कुनै अपराध नगर्दा पनि अनाहकमा फसे। म उनको चालक भए। बाटोमा गाडीसँगै उभिएको भन्दैमा म चालक भए। यहाँ सोझो हुनु पनि केही रहेनछ। कस्तो आट भएको केटी हो, अपरिचितलाई फसाएर ! सत्यतथ्य कुरा भनु भने पनि फेरि यहि केटी फस्छे। म रुम भित्र छु बाहिरबाट चुकुल हालिएको छ। अनाहकमा बिना गल्ती पुलिस कस्टडि भित्र उफ… !

“केहिबेर केरकार गरेर छोडिन्छ,” भन्दै त्यो असै बाहिर निस्कियो।

आज खाजा खान पनि भ्याएको थिइन। भोक बेस्सरी लागेको छ। दशैं नजीक आएको थियो। किनबेल गर्ने पैसाको जुकाड गर्न सकेको छैन। कहाँ पुग्छु भनेर सोचेको कहाँ आइपुगे छि ! बाहिर मुसलधारे पानी पर्यो। बिना कारण अदालतको आदेश र थुनुवा पुर्जी नभै कसैलाई थुन्न पाइंदैन।

म कानुनको विद्यार्थी। के गर्नु कानुन पढेको भनेर। कानुन एकातिर ब्यवहार अर्कोतिर। अफिसमा गएर मैले कानुन जानेको छु, मलाई अनाहकमा किन थुनेको भनु भने फेरि त्यो केटीले के भन्ली वा फेरि उस्को हालत के हुने हो थाहा छैन। हाम्रो देशमा कानुन छ र छैनको अवस्था छ।

कानुन छ भनु भने सिङ्गो गरिबी समाज न्याय बिहिन अवस्थामा छ। न्याय सिर्फ धनीलाई मात्रै मिल्छ।

ह्या यतिबेला मेरो तर्क बितर्कले कुनै महत्व राख्दैन ? बरु सहिदिन्छु। एकछिन सहि दिंदा वा हो मैले गल्ती स्वीकार गर्दा त्यो केटीको बचाउ हुन्छ भने बरु भैगो म चुपचापले बस्छु। पानी झन पर्न थाल्यो। अँध्यारो भो। सडकमा गाडीको आवाज पनि क्रमश: कम हुँदै गो। अघिसम्म त त्यो केटीको आवाज सुनिएको थियो।

अहिले सुनिन्न। उसलाई पनि त लागेको होला कि मैले एउटा अनजान सोझो केटोलाई अनाहकमा फसाए भनेर। तर के थाहा उसलाई यस्तो महसुस भएको छ कि छैन। यस्तो दया हुनेले झुठो बोलेर मलाई किन फसाउथी। केटी मान्छेलाई बुझ्न सकिन्न। उ त घर गै होलि मलाई फसाएर।

दुई/दुई बोतल वाइन किनेकी छे। यतिबेलासम्म त उस्को घरमा वाइन पार्टी चलिरहेको होला। म निर्दोष छु भनेर मेरो लागि साक्षी बस्ने को छ अब ? उ आफू निर्दोष देखाउनलाइ त गाडीमा राखेर मलाई यहाँसम्म ल्याएकी।

भोक निन्द्रा र प्यासले मुख सुकिसकेको थियो। कोठामा मेरो सानो भाइ थियो ९ बर्षको। दशैंमा घर जानी भनेर टिकट काटिसकेको थिए। दशैं किनबेल गर्न पैसाको जोहो गर्नु थियो। यतिबेला भो भाइ एक्लै आत्तियो होला। उस्ले खाना बनाउन पनि सक्तैन।

अझ हिजो देखि त्यो पुरै फ्ल्याट खाली भैसकेको थियो। सबै दशैलाई घर गइसकेका थिए मात्रै हामी थियौ। भाइ जेठ देखि मात्रै हो यहाँ बसेको। वरिपरि कसैलाई चिन्दैन। दाइ छिटो आउनु है मलाई डर लाग्छ भन्दै थ्यो। म छिटो आउछु भनेर निस्केको आजै अबेर भो। उफ !

कति आत्तियो कति रोयो होला भाइ। न उसँग मोबाइल छ। न उसलाई कसैले चिन्छन्। बिहान खाना पनि छिटो खाएको। त्यस्लाई कति भोक लागेको होला। छिटो फर्किहाल्छु भनेर पैसा पनि छोडिन। त्यस्को खल्तीमा १५-२० रुपैयाँ भन्दा थिएन। फोन गरु भने पनि ओल्लोपल्लो कोठाका सबै घर गइसके। चिन्ता र भोकले सक्कियो होला त्यो हरे शिव !

रातको १२ बजे एकजना प्रहरी चुकुल खोलेर भित्र पसे। “सरि है तपाईंलाई ढिला भो। तपाईंको केस अलिक जटिल भएर गयो। हामीले चाहेर पनि तपाईलाई छोड्न नमिल्ने भो,” म उनको भनाइ सुनेर आत्तिए। उसैत भोकप्यास र भाइको चिन्ताले सताएको बेला एक्कासि आएको यो भनाइले मलाई रिगटा लाग्यो।

शरीर काम्यो। मुटुको चाल एक्कासि बढ्यो। फ्यात्त भुइँमा ढल्छु कि क्या हो जस्तो भो। सारा शरीर भरको बल निकाले।आक्रोशित भए।

र बोले- ”किन र सर के भो ? मेरो के गल्ती थियो र ?”

“तपाईंको नाउँमा उजुरी परेको छ।”

“कस्तो उजुरी? लाइसेन्स नभएको भन्ने होला होइन ?”

“होइन।”

“अनि अरु के उजुरी ?”

“तपाईंले महिला माथी हातपात गरेको उजुरी परेको छ।”

“मैले कस्लाई हातपात गरे र ?”

“जस्ले तपाईलाई बग्गीखाना ल्याइन्। तिनै महिलाले तपाईंले उहाँ माथि यौनहिंसा गरेको आरोप सहित उजुरी परेको छ।”

“हे ईश्वर यो के सुन्नु पर्यो ?”

“तपाईंले कतै गल्ति त गर्नु भा होइन नी ?”

“कसरी गर्न सक्छु जवकी मैले उन्लाई राम्रोसँग चिनेको त छैन।”

“केटीले चाहिन भने एकै श्वासमा फसाउँछिन चिन्नु नै किन पर्यो ?”

“तिनी कहाँ छिन् अहिले ?”

“तिनी त उजुरी गरेर ७ बजे नै गइसकिन्।”

“उजुरी लिदा मलाई सोधपुछ गर्न पर्दैन ?”

“महिला सेल टेकुमा गएको छ तपाईं विरुद्धको उजुरीको फाइल। तपाईंलाई हामीले यहाँ राख्न पनि मिल्दैन अदालतको आदेश चाहिन्छ। भोलि केटीलाई पनि बोलाइन्छ। तपाईंलाई अब आधा घन्टा पछि हामी टेकु लैजान्छौ।”

अर्ध बेहोस जस्तै भए। बोल्ने वाक्य नै अड्कियो गलामा। सायद मुर्दा हुनु भनेको पनि यस्तै त होला। दुई तीन घन्टाको यो बिचमा म के थिए के भए ? यो के हो? एक्कासि यति ठुलो भुइचालो कसरी आयो जिन्दगीमा।

हवल्दार निस्किए। फेरि बाहिरबाट चुकुल हालियो। म भित्रै थुनिए। रातको ११ बज्यो। भाइ कति रोयो होला। ओ गड के गरु ? कस्लाई फोन गरु? उफ ! मोबाइलमा ब्यालेन्स पनि छैन।

एकदम मन आत्तियो। भाइको एकदम ख्याल गर है बाबू भनेर आमाले जेष्ठमा हिड्ने बेलामा भन्नू भएको कुरा यतिबेला पो याद आयो। झल्यास्स भए। न भाइलाई कसैले कोठाबाट अपहरण गरेर पो लगे ? रुदै भित्रबाट ढाेका घचेटनु थाले। हवल्दार आइपुगे। ढोका खोले। किन के भो? किन रुनु भएको ? भनेर सोधे ।

मैले भने- “भाइ सानो छ। एक्लै छ कोठामा। कति आत्तियो होला। कति चिच्यायो होला भनेर चिन्ता लाग्यो सर।”

”टेकुमा हाजिर नभै तपाईं जान मिल्दैन।”

कस्तो मुटु नै नभएको हवल्दार रहेछ त्यो। उस्ले मेरो कुरा ध्यान दिएर सुनेन। सुन्नै चाहेन। एउटा कानले सुने जस्तो गर्यो तर उस्को ध्यान अघि मादक पदार्थ खाएर कार चलाउने ब्यापारीसँग पैसा सेटिङ र बार्गेनिङ गर्नुमा थियो।

उ फुत्त निस्कियो ब्यापारीलाई सम्झाउन थाल्यो- “तपाईंको पनि यत्रो सामाजिक प्रतिस्ठाको कुरा छ। राती-राती परस्त्री केटीलाई गाडीमा हालेर आफै फिटु भएर केटीलाई पनि छादने गरि ख्वाएर गाडी दुर्घटना पार्नु भो धन्न केही भएन। भैगो पचास हजार दिनुस हामी केस उठाउदैनौ।”

नभन्दै ब्यापारीले ब्यागबाट पैसाको बिटाे निकाल्यो गन्यो दियो। तर उ गाडी चलाउन सक्ने अवस्थामा थिएन। त्यस्को गर्लफ्रेन्डले अफिसमै छादी। एक जना प्रहरी आयो। ब्यापारीले त्यो प्रहरीलाई गाडीको चाबी दियो।

प्रहरीले गाडी चलायो उनीहरू बाहिर निस्किए। यो दृश्यलाई मेरो आखाको क्यामराले भिडियो खिचिरहेको थियो कहिले पनि नसक्किने मेमोरि कार्डमा।

केही बोल्न सक्ने अवस्था नै छैन यहाँ। बरु मौन बस्यो भने आफैलाइ शान्ति मिल्छ। बोल्न मन लागेन। कसरी चलेको छ प्रहरी प्रशासन यो देशमा भन्ने बुझे।

त्यो केटीले फसाएको भन्दा पनि म भाइकै चिन्ताले मर्छु कि क्या हो ? त्यो हवल्दार पैसाको भागबन्डा लाएर मतिर खोक्दै आयो। मैले पनि आफुलाई केही थाहा नभएको जस्तो गरेर अभिनय गरे। चिन्तामा परेको मान्छेलाई कसैले राम्रै कुरा गर्दा पनि रिस उठेर आउने रहेछ। जस्तो शासन त्यस्तै प्रशासन।

यिनकै गृहमन्त्रीले पनि यो कमाइको भागशान्ती पाउछ होला, अनि पो मरिहत्ते हाल्छन गृहमन्त्री हुन। एउटा भ्यान बाहिए प्राङ्गणमा आइपुग्यो। त्यो केटीलाई पनि भोलि बिहान झिकाउनु भनेर डिएसपिको आदेश पाएर प्रहरी भ्यान सिहदरबार माइतीघर त्रीपुरेश्वरतिर हुइकियो।

मान्छे मारेको कैदीलाई जस्तै गरेर मलाई लिएर गए। मैले बाटोमा एकचोटि चाबहिल भएर जाउन मेरो बालक भाइ एक्लो छ आत्तिएर मर्न लाग्यो होला भनेर बिन्ती बिसाए, रोइकराइ गरे, छाती पिटे तर सुनेन तिनीहरूले।

सयको गतिमा गुडेको गाडी एकै छिनमा टेेकु पुग्यो। मलाई खोर भित्र हालिदिए। भोक र प्यासको सिमा थिएन। कैदीबन्दीले सोधपुछ गर्न थाले। किन जेल परेको भनेर।

मलाई कसैसँग केही बोल्नु थिएन। रातको १ बजिरहेको थियो। ममा भाइको पिरले ब्यग्रता छाइरहेको थियो। सक्नी भए यो झ्यालबाट हामफालेर भाग्थे तर के गरु !…..

म रोएको देखेर कैदीबन्दी साथीहरूमा करुणा पलाएछ। खास कुरो के हो? किन रोएको? भन्न थाले। खास चै म भाइको मायाले रोइरहेको थिए। चिसो भैमा यतिकै निदाएछु। भोलिपल्ट बिहान ९ बजे एक्कै चोटि इन्भेस्टिकेसन ब्युरो अफिसरको टेबुलमा पुग्दा झस्किए।

एकै चोटि प्रस्न ओइरियो। सँगै उभिएको प्रहरी हवल्दारले मलाई पिठ्युको पातोमा एक मुक्की हान्यो। म घुत्रुक्क भैमा बस्न पुगे। हे साला ! तै होइनस कार भित्र स्त्रीलाई हातपात गर्ने ? साला काटेर फाल्दिउ तेरो त्यो.. । नकच्चरा लफुङ्गा आवारा !

”अनुहार हेर्न लाग्यो ऋषि जस्तो बानी ब्यहोरा चै खाएर फ्यालेको रक्सीको सिसि जस्तो” यति भनेर उ मेरो बयान नोट गर्न थाल्यो।

मैले आफ्नो साविती बयान गरेपछि ती दुवै झस्किए। र टुङ्गोमा पुगे ती केटीले एउटा अन्जान केटालाई फसाइछ भनेर।

मेरो ल कलेजमा त्यो नाम गरेको केटी दोस्रो बर्षमा अध्यननै गर्दिन भनेर पत्ता लाग्यो। केटीले दिएको मोबाइल नम्बरमा फोन गरेको मोबाइल नै स्विच अफ छ। मोबाइलको ट्र्याकिङ गर्दा घर पत्ता लाग्यो। जाउलाखेल एकान्त कुना।

दुर सन्चारसँग अनुमती लिएर मोबाइल इन्फर्मेसन र सोसियल एक्टिभीटि अध्ययन गर्न लगाइयो। केटीको नाउँमा पाँचवटा फेसबुक आइडि, ह्वाट्सप, भाइबर, इमो, टिकटक, मेसेन्जर र टुइटर एकाउन्ट सब पत्ता लाग्यो।

टुइटरबाट र मेसेन्जरबाट बिदेशीहरुसँग कुरा गरेको, बिदेशी केटाहरुसँग बिहे गर्न खोजेको, बिदेशी केटालाई मायाको प्रपन्चमा पारी बिहे गरि नेपालबाट जति छिटो भाग्न खोजेको देखियो। र पैसाको कारोबारमा समेत सम्लग्न रहेको पत्ता लाग्यो।

उस्ले ४ वटा दुरसन्चारको सिम र बाकी दुइटा एनसेलको सिम प्रयोग गरेको पाइयो। नेपाल यातायात ब्यावस्था बिभागमा सम्पर्क गरि हेर्दा त्यो केटीले चढेको कार समेत उस्को आफ्नो नाउँमा नभै एकजना मन्त्रीको पिएको नाउँमा देखियो।

ती मन्त्रीको पिएलाइ सम्पर्क गरियो। पिएलाई लिन मन्त्री क्वाटर जादा गाडी क्वाटरभित्र फेला पर्यो। केटी को हुन र कहाँ छिन् भनेर प्रहरीले सोधपुछ गर्दा चुपचापले क्वाटरबाट बाहिर निस्किनु नत्र जागिर जाला भन्ने धम्की आएपछि। यो केश यहि यतिकै टुङ्गियो।

दिन्भर प्रहरीको भ्यानमा कुदिरहे कुदिरहे। एउटा टुङ्गोमा पुगियो।

प्रहरीको भ्यानसहित चाबहिल कोठामा पुग्दा मेरो भाइ रुदा-रुदै थाकेर अनुहार नै नीलो भैसकेको थियो। उस्को बोली समेत हराइ सकेको पाए। मेरा आसुका बलिन्द्र धाराले ओछ्यानमा ढलिरहेको भाइको छाती भिज्यो। उ बोल्न सकेन। आँखा समेत चिम्लिएको छ। केही धुकधुकी छ कि भनेर आशा लाग्यो। घरमा आमालाइ फोन गरे। आमा बेस्सरी रुन थाल्नु भो। प्रहरीले सहयोग गरे। हामी ॐ हस्पिटल गयौ। इमेर्जेन्सीमा प्रहरी स्वयंले लिएर गए हामीलाई।

दुई घन्टा स्ल्यान पानी दिएपछि भाइले आँखा उघार्यो। भाइलाई अगालो हालेर बेस्सरी रोए। आसुको तातो बाफ अस्पतालको भित्ताभरी उडेर गए। केही भनिन आफुलाई। भाइको निर्दोष आखामा हेरिरहे। केही भनिन त्यो केटीलाई पनि जस्ले मेरो जिन्दगीमा एउटा घनघोर कालो रात छोडेर गइ।

यो जिन्दगीको नियमित आकस्मिकता थियो। भाव शून्य भए म। साझ झमक्क परिसकेको थियो। भाइलाई डिस्चार्ज गर्ने पैसा थिएन। काउन्टरमा गए। आफ्नो अवस्था भने। बेड चार्ज लिइएनन। केवल दुई बोतल स्ल्यान पानीको बिल मात्रै तिर्नु थियो पछि आएर तिर्नु भने।

भाइलाई लिएर कोठामा गए। भात पकाए। भाइको मुहारमा खुसीको इन्द्रेणी देखे।आमाले पठाइदिनु भएको गुन्द्रुक र भात पेटभरी खायौ र दाजुभाइ निदायौ।

स्रोत : सुत्रन्युज
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार