२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

राप्ती नदीमा आपतकालीन तटबन्धपछि गाउँबस्ती सुरक्षित

भत्किएको दुई वर्षपछि बाँकेको खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपतकालीन तटबन्ध निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्ध निर्माणको काम भइरहेको छ ।

राप्ती नदीमा आउने बाढीको जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउन जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।

तटबन्ध नहुँदा नदीले कटान तीव्र पार्दै गएकाले बाढीको उच्च जोखिममा परेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती जोगाउन अहिले आपत्कालीन तटबन्ध निर्माण कार्य तीव्र रूपमा भइरहेको जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा.नारायण सुवेदीले बताए ।

उनका अनुसार वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै प्राविधिक टोलीले निर्माणस्थलमै पुगेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ प्रविधिबाट अस्थायी आपत्कालीन तटबन्ध बनाउने कार्य भइरहेको छ ।

उनले सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपतकालीन तटबन्ध निर्माण भइरहेको बताए । आयोजना प्रमुख डा.सुवेदीका अनुसार आपत्कालीन तटबन्ध निर्माण गर्दा नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०–१० सेन्टिमिटर मोटाइ भएको छ वटा सिमेन्टको पोल जोडेर पक्की संरचना तयार पारिएको छ ।

राप्ती नदी क्षेत्रमा प्रायः डुबान र कटानको समस्या तीव्ररुपले हुने हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बाढी र नदी कटानको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रूपले नदीको चार मिटर गहिराइबाट तटबन्ध निर्माण भइरहेको डा सुवेदीले जानकारी दिए ।

सो कार्यमा १५० बढी जनशक्ति परिचालन गरिएको छ । जिल्लाका तीन स्थानीय तहअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ स्थित ढलैया, वडा नं ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदीपूर्वको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित सोनवर्षा, गङ्गापुर (कुदरबेटवा), भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपत्कालीन तटबन्धको काम सुरु गरिएको उनले उल्लेख गरे ।

पक्की तटबन्ध निर्माणका लागि गत जेठमा मात्र बोलपत्र आह्वान हुँदा बजेट र ढुङ्गाको अभावका साथै वर्षा सुरु भइसकेका कारण हाललाई अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरिएको सुवेदीको भनाइ छ । राप्ती नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा रहँदा दाङस्थित जनताको तटबन्ध कार्यक्रमले हाललाई अस्थायी रुपको आपतकालीन तटबन्ध निर्माण गरेपछि जोखिम कम हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार