नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन’ प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो ।
बेम्बोमा प्रकुपाइन जोडिएकाले ठूलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा.नारायण सुवेदीले जानकारी दिए । राप्ती नदी किनारामा रहेको खल्ला झगडिया क्षेत्र राप्ती नदी कटानको उच्च जोखिममा छ ।
नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार नागरिक बाढीको उच्च जोखिममा छन् । ‘अस्थायी तटवन्ध गरिएको छ,’ राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने । उनले बाढीबाट बस्ती जोगाउन प्रभावकारी काम भएको उल्लेख गरे ।
राप्तीको बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका गाउँ जोगाउन जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम गरिएको हो । तटबन्ध निर्माणका लागि १५० बढी जनशक्ति परिचालन गरिएको छ ।
नदी तटीय क्षेत्रका बासिन्दा बाढीको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेको र तटबन्ध नहुँदा नदीले कटान तीव्र पार्दै गएकाले बाढीको उच्च जोखिममा परेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती जोगाउन अहिले आपत्कालीन तटबन्ध निर्माण कार्य तीव्र रूपमा भइरहेको जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा.सुवेदीले बताए ।
उनले सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४५० मिटर लामो तटबन्ध निर्माण भइरहेको बताए । वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै जनताको तटबन्ध कार्यक्रम आयोजनामार्फत सो कार्य गरिएको हो ।
आयोजना प्रमुख डा.सुवेदीका अनुसार आपत्कालीन तटबन्ध निर्माण गर्दा नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०–१० सेन्टिमिटर मोटाइ भएको छ वटा सिमेन्टको पोल जोडेर पक्की संरचना तयार पारिएको छ । तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रुपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बनाउने काम गरिरहेको डा.सुवेदीले बताए ।
राप्तीसोनारी–६ ढलैया, वडा नम्बर ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदी पूर्वको नरैनापुर–६ सोनवर्षा, गङ्गापुर डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपतकालीन तटबन्धको काम गरिएको हो । खल्ला झगडिया क्षेत्रमा आगामी वर्ष मङ्सिरसम्म सक्ने गरी रु.६ करोड पाँच लाखको लागतमा करिब ४५० मिटर लामो पक्की तटबन्ध गर्न लागिएको प्रमुख डा.सुवेदीले बताए ।