जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई मंगलबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका–५ जाजरकोटकी २२ वर्षीया दिलमायासिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२, सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिका–७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली रहेका छन् ।
त्यसैगरी, पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–१२, सुर्खेत बस्ने ३८ वर्षीय प्रेमबहादुर विक र नरहरिनाथ गाउँपालिका–४, कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११, न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
प्रहरी उपरीक्षक शाहीका अनुसार प्रहरीले उनीहरूबाट रु १३ लाख नक्कली नोट र करिब रु ९० लाख बराबरको अफिम बरामद भएको छ । त्यससँगै क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि–बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एक–एक थान फेला पारी बरामद गरिएको उनले जनाए । पक्राउ परेकामाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको उनले बताए ।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाले करिब रु दुई लाख सक्कली नोटसँग नक्कली नोट साटिसकेकाले लेनदेन गर्दा सचेत रहन सबैलाई प्रहरी उपरीक्षक शाहीले आग्रह गरेका छन् । उनका अनुसार, अफिम खरिदका लागि ती नक्कली नोटहरू प्रायः सुर्खेत, जाजरकोटका व्यापारीलाई दिएको आरोपितले बताएका छन् । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई आक्रमक बनाउँदै लगेको छ ।