२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

सरकारबाट बाहिरियो जसपा, राष्ट्रियसभामा ओली अल्पमतमा

जनता समाजवादी पार्टी नेपालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालको यो पछिल्लो निर्णयसँगै संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा ओली सरकार अल्पमतमा परेको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा अल्पमतमा परेको हो । भूमि विधेयकमा समेटिएका विषयवस्तुमाथि असहमति जनाउँदै जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्देशन बमोजिम बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् । ती सांसदहरू विपक्षमा रहेपछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो । बहुमतका लागि ३० मत हुनुपर्नेमा सरकारसँग अब कांग्रेसका १६, एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद मात्रै छन् । यी सबै जोड्दा २८ मत मात्र हुन्छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार