नेपालगन्ज न्यूरो अस्पतालले पश्चिम नेपालमै पहिलो पटक भेरिकोज भेन रोगको शल्यक्रियामा आवश्यक प्रविधि माइक्रोवेभ अब्लिगेसनबाट सेवा सुरु गरेको छ । अस्पतालले रोल्पा माडी गाउँपालिका– २ घर्तिगाउँकी गौमती घर्ती मगरको भेरिकोज भेनको सफल शल्यक्रिया गरी सेवा सुरु गरेको हो ।
वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा.निरज भट्टराईको टोलीले सो शल्यक्रिया गरेको हो । डा.भट्टराईले यो प्रविधिबाट भेरिकोज भेनको शल्यक्रिया सेवा पश्चिम नेपालमै पहिलो भएको दाबी गरेका छन् ।
उनका अनुसार यो प्रविधि कलेजो, हड्डी, मस्तिष्क तथा अन्य भागमा रहेका ट्युमरको शल्यक्रिया गर्नका लागि नेपालमा प्रयोग हुँदै आएको छ । तर माइक्रोवेभ अब्लिगेशन प्रविधिमा भेरिकोज भेनको शल्यक्रिया गर्न मिल्ने गरी प्रविधि थपिएकोले यो सबैभन्दा आधुनिक र पश्चिम नेपालमै पहिलो प्रविधि भएको डा भट्टराईले दाबी गरे ।
यसअघिको प्रविधिको तुलनामा यो प्रविधिबाट शल्यक्रिया गर्दा रोगको समस्या नदोहोरिने, बिरामी उही दिन शल्यक्रिया गरी घर फर्किन सक्ने, पूरै बेहोस गर्न नपर्ने र अनावश्यक कोष तथा तन्तु नजल्ने जस्ता फाइदाहरू रहेको उहाँले जानकारी दिए ।
यो प्रविधिले नशाको जुन भाग जलाउन चाहेको त्यही माग मात्र जल्ने भएकाले शल्यक्रियापछि जटिलता आउँदैन र उपचारपछि ९८ प्रतिशत सफलता रहेकोले यसको उपयोग विकसित राष्ट्रमा बढी हुने गरेको डा भट्टराईको भनाइ थियो । उनले भने, ‘अन्य प्रविधिबाट भएका शल्यक्रियामा रोग दोहोरिन्छ, यसमा ९८ प्रतिशत नदोहोरिएको अध्ययनले देखाएको छ ।’
पहिलो शल्यक्रिया गरिएका घर्ती मगरकी दिदी नाता पर्ने रश्मी बुढा मगरले भनिन्, ‘३७ वर्षीया गौमतीको देब्रे साइडको खुट्टामा नसा छाला बाहिरै गुजुल्टो अर्थात् फुलिएको थियो । रोल्पामा उपचार सम्भव नभएपछि थप उपचारका लागि घोराही पुगेकोमा त्यहाँका चिकित्सकहरूले शल्यक्रिया गर्न सुझाव दिएपछि यहाँ ल्याएका हौं ।’
चिकित्सकहरुका अनुसार घोराहीबाट नेपालगन्जको न्युरो अस्पताल आउँदा चिकित्सकको सल्लाह बमोजिम सफलतापूर्वक लेजर प्रविधिबाट शल्यक्रिया गरिएको हो । ‘शल्यक्रिया नगर्दा उठ्न बस्नै गाह्रो थियो । अहिले बहिनीको स्वास्थ्य अवस्थामा सुधार भएको छ,’ रश्मीले भनिन् । चिकित्सकहरुका अनुसार नेपालमा कुल जनसङ्ख्याका ३० देखि ४० प्रतिशत मानिसहरूमा भेरिकोज भेनको समस्या हुन्छ ।
यो समस्या भएपछि बिरामीको छालामा दाग देखिने, हिँड्न नसक्ने, खुट्टा सुन्निने, दुख्ने जस्ता समस्या हुन्छ । यसको समयमै उपचार नभएमा अन्य जटिल समस्या हुन्छ । यो समस्या धेरैवेर उभिएर दैनिक काम गर्ने गृहिणी, सुरक्षाकर्मी, सेना, ट्राफिक, शिक्षक, भरिया, भान्छामा काम गर्ने सेफ, नर्स, शल्यचिकित्सक लगायतमा बढी हुने गरेको नेपालगन्ज न्यूरो अस्पतालका प्रमुख कन्सल्टेन्ट न्यूरो सर्जन मस्तिष्क नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा.जोशन न्यौपानेले बताए ।