२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

पाँच प्रदेशमा ठूलो बर्षा, लुम्बिनीका केही स्थानमा हावाहुरी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको महाशाखाले बताएको छ ।

जसका कारण देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार