२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

चीनले तिब्बतमा विशाल बाँध निर्माण थालेपछि भारत चिन्तित

प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठुलो बाँध निर्माण सुरु गरेको छ । तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ ।

चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो । दक्षिणपूर्वी तिब्बतको निङ्चीमा शिलान्यास समारोहपछि अधिकारीले उक्त परियोजना अन्तर्गत उत्पादन हुने विद्युतबाट तिब्बतमा विद्युतको मागलाई सम्बोधन गरिनेछ ।

उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिनेछ भने तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गरिनेछ । यो बाँध मध्य चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा ठुलो हुनेछ । बाँध निर्माणका कारण रोकिने पानीले भारत र बङ्गलादेशका लाखौँ मानिसमा गम्भीर प्रभाव पर्न सक्छ ।

यस परियोजनामा पाँचवटा जलविद्युत केन्द्र निर्माण हुनेछ, जसको कुल लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो ।

भारतको विदेश मन्त्रालयले भनेको छ, ‘चीनलाई यो सुनिश्चित गर्न आग्रह गरिएको छ कि ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितमाथिको गतिविधिले क्षति नपुगोस् ।’ गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो ।

साथै, चीनले नदीको तल्लो भेगका देशसँग पनि सम्पर्क कायम राख्ने बताएको थियो । पर्यावरणविद्ले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठुला परियोजनाको अपरिवर्तनीय प्रभावबारे चेतावनी दिएका छन् । छिमेकी तथा प्रतिद्वन्द्वी एसियाली शक्ति भारत र चीनको हजारौँ किलोमिटर लामो सिमाना साझा रहेको छ ।

स्रोत : एएफपी
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार