सुर्खेतमा गत आर्थिक वर्ष २०८१–०८२ को एक वर्षमा डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो । कार्यालयका अनुसार हरेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताए ।
आव २०७७–०७८ मा ६३९ जना सङ्क्रमित भएकामा २०७८–०७९ मा त्यो सङ्ख्या बढेर एक हजार ३२२ पुगेको र आव २०७९–०८० मा एक हजार ४८४ जना सङ्क्रमित भएका उनले जानकारी दिए । आव २०८०–०८१ मा भने सङ्क्रमण केही घरेको थियो । त्यस वर्ष ५७१ जनामा सङ्क्रमण देखिएको थियो ।
तीन नगरपालिका उच्च जोखिममा
यहाँका वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेङ्गीको उच्च जोखिममा छन् । जोखिमलाई मध्यनजर गरी ती क्षेत्रहरूमा सचेतना अभियान तीव्र पारिएको कार्यालयका डेङ्गी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले सम्पर्क व्यक्ति बिसीले बताए ।
उनले विशेषगरी साउनदेखि कात्तिक महिनासम्मलाई सङ्क्रमणको संवेदनशील समय मानी ‘सचेतना महिना’का रूपमा कार्यक्रमहरू सञ्चालन गरिने बताए । ‘प्रत्येक शुक्रबार ‘सरसफाइ शुक्रबार’ नारासहित कार्यालय, विद्यालय र सामुदायिक ठाउँमा सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गरिने योजना रहेको उनले सुनाए ।
स्थानीयले यस अभियानमा समुदायलाई सँगसँगै अगाडि बढाउन आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले सहरका व्यावसायिक क्षेत्रहरूमा सरसफाइको ख्याल नगरेसम्म सङ्क्रमण नघट्ने भन्दै निजी क्षेत्रले पनि अभियानमा हातेमालो गर्ने बताए । उनले सचेतना अभावले महामारीको रूप लिन सक्नेतर्फ सचेत हुनुपर्ने बताउँदै जनचेतना अभिवृद्धि गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी प्रमुख करुणा भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने बताइन् । यसका लागि टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिने कार्ययोजना बनाइएको उनले जानकारी दिइन् ।