२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ ।

आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) रु ५२५ कायम गरिएको छ । मध्यम रु ४९५ कायम भएको छ । चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को रु तीन हजार ८५५ र मिडियमको रु तीन हजार ६४५ कायम गरिएको छ । अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५१० पुगेको थियो ।

उनले भने, ‘हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ ।’ यससँगै किसानले लागत मूल्य पाएको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ ।

साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए । उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ ।’ मूल्य बढ्दा किसान उत्साहित भएका छन् । एकिन तथ्याङ्क नभए पनि हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ । यो सङ्ख्या पहिलाको तुलनामा झण्डै आधा कम हो ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार