२०८३ साउन १७ , आइतबार 2, August 2026, Sunday

औषधिभन्दा कम छैन ‘मेथी दाना’

मेथीमा यतिधेरै गुणहरू लुकेका छन् कि यो हाम्रो स्वास्थ्यको लागि कुनै औषधिभन्दा कम छैन । भान्सामा मसलाको रूपमा त यसको प्रयोग गरिन्छ नै ।

साथै, यो स्वास्थ्यसँग सम्बन्धित कैयौँ समस्याहरू हटाउन पनि निकै सहयोगी छ । मेथीको दानालाई रातभर पानीमा भिजाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदाहरू मिल्छन् । २१ दिनसम्म लगातार मेथीको दाना भिजाएर के–के फाइदा हुन्छ ? आउनुहोस् जानौँ ।

तौल घटाउन सहयोगी

मेथीको दानामा घुलनशील फाइबर प्रशस्त मात्रामा हुन्छ, जसले पाचन प्रक्रियालाई ढिलो बनाएर लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । यसले अस्वस्थकर खाजा खाने इच्छा कम गर्छ र तौल नियन्त्रण गर्न मद्दत पुग्छ । साथै, मेथीको पानीले मेटाबोलिजमलाई बढावा दिन्छ, जसले फ्याट बर्न गर्न (बोसो पगाल्न) मद्दत गर्छ ।

मधुमेह नियन्त्रण गर्न लाभदायक

मेथीको दानामा ग्यालेक्टोमेनन नामक यौगिक पाइन्छ, जसले रगतमा चिनीको मात्रा (ब्लड सुगर लेभल) नियन्त्रण गर्न मद्दत गर्छ । यसले इन्सुलिन सेन्सिटिभिटीलाई बढाउँछ र कार्बोहाइड्रेटको अवशोषणलाई ढिलो बनाइदिन्छ । हरेक बिहान मेथीको पानी पिउँदा टाइप–२ मधुमेहका बिरामीहरूलाई फाइदा हुन सक्छ ।

पाचन प्रणालीलाई बलियो

मेथीको पानी पाचन सम्बन्धी समस्याहरू जस्तै एसिडिटी, कब्जियत र ग्यासबाट राहत दिन प्रभावकारी छ । यसमा भएको फाइबरले खाना सजिलै पचाउन र आन्द्राको सफाइ गर्न मद्दत गर्छ । यदि तपाईंलाई अपच वा पेट दुख्ने समस्या भइरहन्छ भने, मेथीको पानी एक प्राकृतिक उपचारको रूपमा काम गर्न सक्छ ।

कोलेस्ट्रोल कम गर्न मद्दत

मेथीको दानामा सेपोनिन नामक यौगिक हुन्छ, जसले कोलेस्ट्रोलको अवशोषणलाई कम गर्छ । नियमित रूपमा मेथीको पानी पिउँदा खराब कोलेस्ट्रोलको स्तर घट्छ र राम्रो कोलेस्ट्रोलमा वृद्धि हुन्छ । यसले मुटुसम्बन्धी रोगहरूको जोखिम कम गर्छ ।

छाला र कपालका लागि फाइदाजनक

मेथीको पानी एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी गुणहरूले भरिपूर्ण हुन्छ, जसले छालालाई डन्डीफोर र चाउरीपनाबाट बचाउँछ । यसले शरीरबाट विषाक्त पदार्थहरूलाई बाहिर निकालेर अनुहारमा चमक ल्याउँछ । साथै, मेथीको दानाको पानी पिउँदा कपाल झर्न कम हुन्छ र कपाल बलियो तथा बाक्लो बन्छ ।

कसरी बनाउने मेथीको पानी ?

  • एक चम्चा मेथीको दानालाई रातभर एक गिलास पानीमा भिजाएर राख्नुहोस् ।
  • बिहान यो पानीलाई छानेर पिउनुहोस् ।
  • यदि स्वाद मन परेन भने, यसमा मह वा कागती मिसाउन सक्नुहुन्छ ।
  • यदि तपाईं गर्भवती हुनुहुन्छ वा तपाईंलाई लो ब्लड सुगरको समस्या छ भने, डाक्टरसँग सल्लाह लिएर मात्र यसलाई पिउनुहोस् ।
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार