२०८३ साउन १८ , सोमबार 3, August 2026, Monday

कसरी हुन्छ युरिक एसिड ?

पछिल्लो समय धेरै मानिसहरू ‘युरिक एसिड बढेको छ’ भन्ने गुनासो गर्छन् । जोर्नी दुख्ने, कुर्कुच्चा सुन्निने वा मिर्गौलामा समस्या देखिने बिरामीहरूको जाँच गर्दा उनीहरूको रगतमा युरिक एसिडको मात्रा बढी देखिने गर्छ । युरिक एसिडको मात्रा किन बढ्छ ? कसरी बनिन्छ युरिक एसिड ? अनि यसको असर के–के पर्न सक्छ? यी सबै प्रश्नको उत्तर यो रिपोर्टमार्फत खोज्ने प्रयास गरिएको छ ।

युरिक एसिड के हो ?

युरिक एसिड हाम्रो शरीरमा पाइने एक किसिमको रासायनिक पदार्थ हो, जुन प्रोटिनयुक्त अंश ‘प्युरिन’ (एगचष्लभ) को विघटनपछि बन्ने गर्छ । प्युरिन हाम्रो शरीरका कोषहरूमा स्वाभाविक रूपमा पाइन्छ र कतिपय खानेकुरा, विशेषतः मासुजन्य परिकार, कलेजो, माछा, दाल, गेडागुडी तथा बियर, रेड वाइनजस्ता मदिरामा पनि पाइन्छ ।

जब प्युरिन शरीरमा पचिन्छ, त्यसको अन्तिम निस्कर्षको रूपमा युरिक एसिड बन्ने गर्छ । सामान्य अवस्थामा, शरीरमा बनेको युरिक एसिड रगतमा मिसिएर मिर्गौलाबाट छानिएर पिसाबमार्फत बाहिर जान्छ । तर शरीरमा युरिक एसिड बढी मात्रामा बन्यो भने वा मिर्गौलाले पर्याप्त मात्रामा नछानेर बाहिर फाल्न सकेन भने रगतमा यसको मात्रा बढ्न थाल्छ ।

कसरी बढ्छ युरिक एसिड ? प्रमुख कारणहरू

  • अत्यधिक प्रोटिनयुक्त खाना सेवन
  • मांसाहारी परिकारको अत्यधिक मात्रा
  • मदिरा (विशेषगरी बियर) को अत्यधिक सेवन
  • प्रशस्त पानी नपिउनु
  • मोटोपन
  • शरीरमा मेटाबोलिजम बिग्रनु
  • मिर्गौलाको कार्यक्षमता घट्नु
  • केही प्रकारका औषधिको प्रयोग (जस्तै ः डाइयूरेटिक्स)
  • अनुवांशिक कारण

यी कारणले गर्दा शरीरमा प्युरिनको विघटनबाट उत्पन्न युरिक एसिड मिर्गौलाबाट राम्रोसँग ननिस्किएर रगतमा जम्न थाल्छ ।

युरिक एसिडको असर के पर्छ ? प्रमुख लक्षणहरु

  • गोडा वा औंलाको जोर्नीमा अकस्मात् दुखाई
  • जोर्नी सुन्निनु, रातो देखिनु
  • बिहान उठ्दा जोर्नी कडाकिनु
  • शरीर थकाइ लाग्ने, आलस्य महसुस हुनु
  • मिर्गौलामा ढुंगा बन्ने खतरा
  • दीर्घकालीन अवस्थामा गठिया रोग विकास
  • युरिक एसिडको क्रिस्टल जोर्नीमा जम्न थाल्दा त्यसले अत्यन्त पीडादायक गाउट अट्याक ल्याउन सक्छ । प्रारम्भिक लक्षणलाई बेवास्ता गर्दा दीर्घकालीन असर हुन सक्छ ।

कसरी नियन्त्रण गर्ने ?

सन्तुलित आहार – प्युरिनयुक्त खाना जस्तै रातो मासु, सुकुटी, जिगर, बियरजस्ता वस्तु कम गर्नुपर्छ ।
पानीको सेवन बढाउने – दिनमा कम्तिमा २.५ देखि ३ लिटर पानी पिउँदा युरिक एसिड पिसाबमार्फत बाहिर जान मद्दत गर्छ ।
मोटोपन घटाउने – तौल नियन्त्रणमा राख्नुपर्छ, जसले मेटाबोलिजम सुधार गर्छ ।
व्यायाम गर्ने – दैनिक हल्का शारीरिक व्यायाम युरिक एसिड घटाउन सहयोगी हुन्छ । क्याफिनयुक्त वा चिनीपाति पेय पदार्थ कम गर्ने ।
चिकित्सकीय परामर्श – यदि युरिक एसिडको मात्रा धेरै बढिसकेको छ भने, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन आवश्यक हुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार