साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा बाँकेका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्न थालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ ।
धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइँ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन् ।
लामो समयदेखि पर्याप्त वर्षा नहुँदा रोपाइँ नै कम भएको बाँके जिल्लामा रोपाइँ भएको धानसमेत पानीको अभावले सुक्न थालेको छ । सिँचाइ सुविधा नभएका जिल्लाका अधिकांश किसानले धान रोप्न नपाएको अवस्था पानीको अभावमा रोपेको धान सुक्न थालेको हो ।
डुडुवा गाउँपालिका–४, मुन्डापूर्वाका पुत्तन बागवानले वर्षा नहुँदा अझैँ धान रोप्न सकेका छैनन् । सिँचाइ सुविधा नभएका कारण उनले धान रोप्न नसकेको बताए । रोपेको धानसमेत सुक्न थालेको बताउँदै डुडुवाका किसानले बोरिङको पानीसमेत सुक्न थालेको गुनासो गरेका छन् । वर्षा नभएपछि रोपेको धान पनि सुक्न थालेको डुडुवा–४ का शालिकराम यादवले बताए ।
लामो खडेरीका कारण खेतको गरामा रहेको बियाड समेत सुक्न थालेको उनले बताए । गत वर्ष यो समयमा धान रोपेर सकेको स्मरण गर्दै यादवले यस पटक ३० प्रतिशत मात्र रोपेकोमा त्यो पनि सुक्न थालिसकेको बताए । डुडुवा गाउँपालिका–३ का दिनेश मौर्यले बोरिङको सहायतामा धान रोपे पनि वर्षा नहुँदा सुकेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सुरुमा केही दिन वर्षा राम्रो भए पनि त्यसयता पानी नपर्दा धेरै किसानले धान रोप्न नपाएको र रोपेकाको पनि सुक्न थालेको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत खडक बस्नेतका अनुसार हालसम्म ७३ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्क सङ्कलन गरिएको बाँकेमा रोपिएको धेरै धान पानी नपाएर सुक्न थालेको सूचना आइरहेको छ ।