२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

उत्कृष्ट बन्यो बबई सिँचाइ आयोजना

बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले आर्थिक वर्ष २०८१–०८२ मा लक्ष्यको ९९.८४ प्रतिशत प्रगति गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उत्कृष्ट आयोजना भएको छ ।

आयोजनाले सुरुदेखि हालसम्म ८२ प्रतिशत काम सम्पन्न गरेको छ । बबई सिँचाइ आयोजनाले गत आव २०८१–०८२ मा ३.६० किलोमिटर मूल नहर निर्माण गरेको छ । २० किलोमिटर शाखा नहर निर्माण गरेको छ । यस अवधिमा एक हजार ३३० हेक्टर सिञ्चित जग्गा थप भएको छ ।

नहर निर्माणका लागि २४.२९ हेक्टर जग्गा अधिग्रहण गरेको छ । आयोजनाले सिञ्चित क्षेत्र सुरक्षाका लागि ३.३५ किलोमिटर तटबन्ध निर्माण गरेको छ । निर्देशक सुशीलचन्द्र देवकोटाले आयोजनाले गत आर्थिक वर्षमा भौतिकतर्फ ९९.८४ र वित्तीयतर्फ ९९.७० प्रतिशत प्रगति गरी मन्त्रालयमै उत्कृष्ट आयोजना हुन सफल भएको बताए ।

आव २०८२–०८३ सम्म निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित गुरुयोजना लागु गरेको आयोजनामा कार्यअवधि एक वर्ष बाँकी छँदा अझै पनि आयोजनाको १८ प्रतिशत काम हुन बाँकी देखिएको छ । करिब १८ अर्ब ९६ करोडको लागतमा २०८२–०८३ मा आयोजना सम्पन्न हुने गरी २०७८ सालमा गुरुयोजना स्वीकृत गरिएको थियो ।

गुरुयोजना अनुसार पर्याप्त बजेट उपलब्ध नहुँदा बबई सिँचाइ आयोजनाको काम लम्बिँदै गएको छ भने लागत समेत बढ्दै गएको छ । २०७८–०७९ मा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएको बबई सिँचाइ आयोजनामा तुलनात्मक रूपमा बजेट विनियोजन बढे पनि गुरुयोजना अनुसार बजेट अभाव हुँदै आएको छ ।

आयोजनाको ९१ किलोमिटर मूल नहर र ३१३ किलोमिटर शाखा तथा उपशाखा नहर निर्माण गर्ने योजना छ । जसमध्ये पूर्वतर्फको ३४ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने शाखा प्रशाखा नहर निर्माणाधीन रहेका छन् । त्यसैगरी पश्चिमतर्फको करिब ४१ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर निर्माण भएको छ भने बाँकी दुई वटा प्याकेज बनाएर ठेक्का भई निर्माण भइरहेको छ ।

हाल गुलरिया नगरपालिका खण्डमा मूल नहर निर्माणको काम भइरहेको छ । ३२ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्नेमा ३० किलोमिटर निर्माण भइसकेको छ भने हालसम्म ३९३ हेक्टर जग्गा व्यक्ति, वन र सरकारी जग्गा सिँचाइको स्वामित्वमा ल्याइसकेको छ । आयोजनामा हालसम्म १५ अर्ब ४७ करोड रकम खर्च भइसकेको छ ।

बबई सिँचाइ आयोजनाका निर्देशक देवकोटाले गत वर्ष एक अर्ब ७० करोड बजेट विनियोजन भएको बताए । गुरुयोजना अनुसार काम हुन नसक्दा गुरुयोजनाको म्याद थप्ने तयारी भइरहेको छ । गुरुयोजना संशोधन गरी म्याद थप गर्दा १८ अर्ब ९६ करोड लागतबाट २२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार