२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

अख्तियारको नेपालगन्ज कार्यालयमा पाँच महिनामा २३७ उजुरी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको पाँच महिनामा २३७ वटा उजुरी परेको आयोगले जनाएको छ । अख्तियारका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म सम्पर्क कार्यालयले हेर्ने चार जिल्लाहरु बाँके, बर्दिया, दाङ र रोल्पामा २३७ वटा उजुरी परेका छन् ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेशबहादुर अधिकारीले १७९ वटा उजुरी विगतका वर्षहरुबाट सरेर आएको र २३७ वटा नयाँ परेका गरेर ४०६ वटा उजुरी रहेकोमा हालसम्म यो वर्ष १४८ वटा उजुरी फछ्र्यौट गरिएको तथा २५८ वटा उजुरी छानविनको क्रममा रहेको बताए ।

छानविनको क्रममा रहेका उजुरीहरुमा बाँकेका १०२ वटा, दांगका ८६, रोल्पाका ३७ र बर्दियाका ३३ वटा उजुरी रहेको र उनीहरुको छानविन कार्य तिव्र गतिमा भइरहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख अधिकारीले बताए । उनले परेका उजुरीहरु मध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको जनाउँदै उजुरीमा विभिन्न प्रकारका अनियमितताहरु उल्लेख गरिएको बताए ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीहरुमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पुरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐन विपरित कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराईएको र घुस लिईएको जस्ता उजुरीहरु रहेका छन् ।

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फछ्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा वर्सेनि उजुरीको सङ्ख्या थपिँदै जाने गरेको पाइएको छ । पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको देखिएको छ ।

घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुने गरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पनि पुष्टि हुँदै आएको हो । अख्तियारमा परेका अधिकांश उजुरीहरुमा अनियमितता पुष्टि हुने गरेको समेत आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार