२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

नेपाली सेनाका उपरथी बानियाँ अनिवार्य अवकाशमा

नेपाली सेनाका उपरथी दीपककुमार बानियाँ अनिवार्य अवकाशमा जान लागेका छन् । पदावधि पूरा गर्ने उपरथी बानियाँको सेवा अवधि थप नगर्ने निर्णयसँगै उनी बिदामा बसेका छन् । हाल कार्यरथी विभागको नेतृत्व सम्हाल्दै आएका बानियाँले अब सो जिम्मेवारी सैनिक संगठन निर्देशनालयका निर्देशक सहायक रथी दिवसराज रेग्मीलाई हस्तान्तरण गरेका छन् ।

सैनिक सचिवालयबाट सबै पृतना तथा मातहतका निकायहरूलाई पठाइएको औपचारिक पत्रमार्फत बानियाँको म्याद नथपिने र नियमानुसार १५ दिन अघि नै बिदामा पठाउने व्यवस्था गरिएको स्पष्ट गरिएको छ । २०७५ पुस ३ गते बसेको प्रधानसेनापतिको पीएसओज (एक्इक) बैठकले रथीवृन्द (जनरल अफिसर्स) अनिवार्य अवकाशअघि १५ दिन बिदामा बस्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयको स्मरणसमेत पत्रमा गराइएको छ ।

हाल प्रचलित प्रावधानअनुसार प्रधानसेनापतिको सिफारिसमा उपरथीहरूको पदावधि दुई वर्षसम्म थप्न सकिने व्यवस्था छ । तर यसपटक बानियाँको म्याद नथप्ने निर्णय भएको हो । नेपाली सेनाभित्रको उच्च तहको यो परिवर्तनले भावी नेतृत्व संरचना तथा कार्यविभाजनमा केही फेरबदल ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार