२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

भ्रष्टाचार मुद्दा लागेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक निलम्बनमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)को बिलिङ प्रणालीमा घोटाला गरेको आरोपमा आइतबार १८ जनाविरुद्ध मुद्दा दायर गर्यो । विशेष अदालतमा दायर मुद्दामा अभियोग खेप्नेमा टेलिकमको नेतृत्व गरिरहेकी संगीता पहाडीसहितका कर्मचारी पनि छन् ।

मुद्दा दायर भएसँगै पहाडी निलम्बनमा परेकी छिन् । विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुनील पौडेल निलम्बनमा परेसँगै प्रतिस्पर्धाबाटै पहाडी टेलिकमको प्रबन्ध निर्देशक बनेकी थिइन् । अहिले उनै पौडेलसहित भ्रष्टाचार गरेको आरोपमा उनी पनि तानिएकी हुन् । तीन दशक लामो समय दूरसञ्चार क्षेत्रमा बिताएर पहाडीले टेलिकमको नेतृत्वमा पुगेकी थिइन् ।

२०८१ भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई कम्पनीको रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेलविरुद्ध मुद्दा दायर भएपछि उनले करिब एक वर्ष टेलिकमको नायब प्रबन्ध निर्देशक पद सम्हालिन् । त्यसपछि नेपाल टेलिकमको नेतृत्व चयन प्रक्रिया यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले अघि बढाएकी थिइन् ।

आवेदन माग गरेर अन्तर्वार्ता र प्रस्तुतीकरणपछि नयाँ सरकार गठन हुँदा रोकिएको थियो । पृथ्वीसुब्बा गुरुङ मन्त्री भएपछि सर्टलिस्टमा परेर पहाडी नियुक्त भएकी थिइन् । पहाडीसँगको प्रतिस्पर्धामा १७ जना थिए । उनीसँगै विमल आचार्य र अनिलकुमार झा अन्तिम तीनमा परेका थिए ।

प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार