लागुऔषधको ओसारपसार, कारोबार र प्रयोगमा गुणात्मक वृद्धि भई राष्ट्रिय समस्याका रूपमा देखिन थालेपछि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने भएको छ । लागुऔषधको कारोबार र प्रयोग पछिल्लो पाँच वर्षमा झन्डै १० गुणाले वृद्धि हुँदा लागुऔषध दुर्व्यसनीमा १५ देखि २५ वर्षका ८० प्रतिशत युवा फस्ने गरेको पाइएपछि नियन्त्रण र रोकथामका लागि प्रभावकारी संयन्त्र तयार गर्न लागिएको हो ।
लागुऔषधको कारोबार र प्रयोग सहरी क्षेत्रबाट क्रमशः गाउँसम्मै फैलिन थालेपछि रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने घोषणा गरेका छन् । उनले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
गृहमन्त्री लेखकले भने, ‘हामी लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गतको लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने छौँ । यस विभागले लागुऔषधको नियन्त्रण तथा रोकथामसँगै सचेतनामूलक कार्यक्रम, सञ्चालन गर्नेछ ।’ उनले लागुऔषध दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबर क्राइम लगायतका घटना हुने गरेको बताउँदै रोकथामका लागि प्रभावकारी कदम चालिने बताए ।
लागुऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढङ्गले प्रभावित गरेको बताउँदै उहाँले लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सरकारी तथ्याङ्कमा नेपालमा एक लाख ३४ हजार जना लागुऔषध सेवनकर्ता रहेको उल्लेख छ । तर लागुऔषध नियन्त्रणमा लामो समयदेखि काम गरिरहेका गैरसरकारी संस्थाले नेपालमा झन्डै आठ लाख प्रयोगकर्ता रहेको दाबी गर्दै आएका छन् ।