२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

तेस्रो वरीयतासहित एकीकृत समाजवादीमा समाहित हुँदै बामदेव

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको छ । शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबीच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुङ्गो लागेको हो ।

दुई पार्टीबिच एकता गर्ने सहमतिका क्रममा गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउने सहमति भएको एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो बरियता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् । हाल खनालपछि तेस्रो वरीयतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् ।

‘हाम्रो विधानमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्ष लगायत पद रहने व्यवस्था छ । वामदेव कमरेडलाई सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता दिने सहमति भएको छ’, ज्वालाको भनाइ छ । दुई पार्टीबीचको एकता घोषणा साउन २ गते हुने सहमतिमा उल्लेख छ । साउन २ मा हुने पार्टी एकता घोषणपछि गौतमसँग आउने अन्य नेताहरूको पद के हुने भन्ने टुङ्गो लाग्ने ज्वालाको भनाइ छ ।

शुक्रबार माधव नेपालसँग एकता गर्ने सहमतिपछि गौतमले एकीकृत समाजवादीको कार्यदिशा, विचार र सिद्धान्त मान्न आफू तयार भएर एकता गर्ने निर्णयमा पुगेको बताए । ‘साउन २ गते एकता घोषणा सभा हुन्छ । त्यसैमा जेजे हुने हो हुन्छ,’ गौतमले भने, ‘एकतापछि नेकपा एकीकृत समाजवादी नै रहन्छ । हामी नेकपा एकीकृत समाजवादीमा एकीकृत हुने हो ।’

गौतमले एकतापछि आफ्नो पदीय जिम्मेवारीबारे यो चाहिन्छ भनेर नभनेको भन्दै भन्नेजति पहिला नै भनिसकेको बताए । पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन् ।

यस अगाडि नै गौतम नेकपा एकीकृत समाजवादी जान खोजे पनि त्यसवेला गौतमले मागेको पद एकीकृत समाजवादीले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाएका थिए । एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने बताएका थिए ।

गौतम एमालेमा समाहित हुन तयार नै देखिएपनि एमालेको सचिवालय बैठकले ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ भन्ने मात्रै निर्णय गरेपनि एमालेले उनलाई खासै वास्ता गरेको थिएन । २०७८ सालमा नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सोही पार्टी छाडेका थिए । त्यही बेला माधव नेपाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न पुग्दा अलग्गै बसेका थिए । नेकपाकालमा ओली र प्रचण्डबिच अन्तरविरोध चुलिँदा गौतम प्रचण्ड–माधवतिर लागेका थिए ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार