२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान

छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ ।

आइतबार कमला दमाईको सर्पदंशबाट शनिबार राति मृत्यु भएको थियो । सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्र जारी गर्दै कञ्चनपुरका सात वटा नगरपालिका र दुई वटा गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न ‘विशेष अभियान’ सञ्चालन गर्न भनिएको छ ।

पत्रमा भनिएको छ, ‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न अनुरोध गरेको हो ।

छाउगोठमा बसेकी महिलाले अकालमै ज्यान गुमाएपछिसबै पालिकाहरूलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । उनले छाउपडी कुप्रथा अन्त्यका लागि सबै स्थानीय तहबाट आवश्यक निर्णय गराइ छाउगोठ भत्काउन अभियान नै सञ्चालन गर्न निर्देशन भएको बताए ।

‘छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने । यसैगरी कृष्णपुर नगरपालिकाले पनि १५ दिनभित्र छाउगोठ भत्काउन सबैलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए रु १० हजार जरिवाना गरिने बताए ।

‘सबै वडा कार्यालयलाई छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौं,’ उनले भने, ‘अटेर गर्नेलाई रु १० हजार जरिवाना गर्ने निर्णय गरेका छौं ।’ कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले वडाले दुई वर्षअघिदेखि छाउगोठ भत्काउने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए । ‘गाली खाएर, झगडा गरेर पनि हामीले धेरै छाउगोठ भत्कायौँ, तर बनाइहाले,’ उनले भने, ‘देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिनावारी भएको बेला छाउगोठ बस्ने गरिएको छ ।’ वडाध्यक्ष बस्नेतका अनुसार उक्त वडामा मात्रै अझै २०० भन्दा बढी छाउगोठ छन् ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार