भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबीच रक्त सञ्चार सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । २०३३ सालदेखि भेरी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालन गर्दै आएको भए पनि दुबै संस्थाबीच पहिलो पटक रक्त सञ्चार सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पत्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हस्ताक्षर गरेर एकअर्कालाई हस्तान्तरण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नयाँ भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । अस्पताल परिसरको पश्चिम चारवाहिनी रोडतर्फ रक्त सञ्चारको नवनिर्मित भवन रहेको छ ।
उक्त सम्झौता पत्रमा रक्त सञ्चार सेवा २४ घण्टा संचालन तथा व्यवस्थापन गर्ने, सेवा प्रभावकारी बनाउन गुणस्तर कायम राख्ने तथा आवश्यकता अनुसार नयाँ प्रविधिको प्रयोग गर्दै जाने, नियमित रूपमा घुम्ती रगत संकलन कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकार तथा रेडक्रसको नीति, कानुन र विनियम अनुसार सेवा सञ्चालन गर्ने र हरेक पाँच पाँच वर्षमा समीक्षा गरी सम्झौता नवीकरण गर्ने लगायतका १८ बुँदा समावेश रहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।
सम्झौता कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष शाह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.निराजन सुवेदी, नर्सिङ्ग प्रमुख आशा पन्त, लेखा प्रमुख मदन नेपाली, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेरेसो रक्त सञ्चार सेवा समितिका संयोजक राजकुमार वर्मा, निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल र रक्त सञ्चार सेवाका प्रमुख बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो ।